मंगलबार ०९ आश्विन २०८०

काठमाडौँ / मलेसियामा गैरकानुनी रूपमा काम गरिरहेका नेपाली श्रमिकलाई निश्चित जरिवाना तिरेर घर फर्कन पाउने समय थप भएको छ ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियाले गैरकानुनी श्रमिकका लागि सञ्चालन गरिरहेको रिक्यालिब्रेसन कार्यक्रमको समय पुस १६ सम्मका लागि थपेको हो । यो समय असारको मध्यमा सकिएको थियो ।

यसबीचमा कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएकाले समस्यामा परेका नेपाली स्वदेश फकर्ने अवसरबाट वञ्चित भएको भन्दै दूतवासले मलेसिया सरकारलाई यो कार्यक्रमको समय अवधि थप गर्न आग्रह गरेको थियो । दूतावासका आग्रहअनुसार दूतावासले समय थप गरेको जनाइएको छ ।

दूतावासका अनुसार रिक्यालिब्रेसन कार्यक्रमअन्तर्गत मलेसियाले गैरकानुनी श्रमिकलाई दुई अवसर दिएको छ । पहिलो निश्चित शुल्क तिरेर स्वदेश फर्कन पाइन्छ भने दोस्रो चाहिँ पुनः मलेसियामा आफ्नो कागजात सच्याउँदै कानुनी रूपमा काम गर्न पाइन्छ।

यसअघि यो कार्यक्रम अन्तर्गत स्वदेश फर्कनका लागि मलेसियाले दिएको समय जुन ३० देखि सकिएको थियो । तर मलेसिया सरकारलाई यो कार्यक्रमको समय अवधि थप गर्न अनुरोध गरेको दूतावासले जनाएको छ ।

मलेसियामा गैरकानुनी रुपले बसेका नेपालीहरुलाई स्वदेश फिर्तिका लागि त्यहाँको सरकारले दुई वटा विकल्प दिएको थियो । पहिलो विकल्पमा गैरकानुनी नेपालीले कि त निश्चित प्रक्रिया पूरा गरेर मलेसियामै वैधानिक भएर काम गर्न सक्ने र अर्को चाहिँ सहुलियत दरको जरिवाना तिरेर आफ्नो देश फर्कन सक्ने थियो ।

यस्तो छ घर फर्कने प्रक्रिया- दूतावासका अनुसार अनलाइन अपोइन्टमेन्ट लिनु पर्नेछ । आफूसँग यात्रा अनुमति पत्र या पासपोर्ट छ भने सिँधै यो अपोइन्टमेण्ट लिन सकिने दूतावासले जनाएको छ । नभएको खण्डमा दूतावासमा गएर यात्रा अनुमतिपत्र बनाउनु पर्छ ।

यात्रा अनुमतिपत्र बनाउनका लागि दूतावासमा नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगेट दस्तुर तिर्नुपर्छ ।

त्यसपछि अपोइन्टमेन्टको दिन आवश्यक कागजातहरु लिएर आपोइन्टमेन्ट लिएको अध्यागमन कार्यालय जानुपर्छ । मलेसिया सरकारले तोकेको पाँच सय रिंगेट जरिवाना तिरेपछि घर फर्कने चेकआउट मेमो लिन सकिने जनाइएको छ ।

७७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया