
काठमाडौं / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीमा उत्पन्न समस्या समाधानका लागि भेटवार्ता भएको छ । समाचार स्रोतका अनुसार अध्यक्ष ओली र नेता नेपालबीच नक्सालस्थित मेरियट होटेलमा भेटवार्तापश्चात् छलफल भइरहेको छ ।
पार्टी एकताका लागि पुनः गठित कार्यदलले मस्यौदा बनाउनुअघि नै नै अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको छ ।
पार्टी एकता गर्न पुनः गठित कार्यदलमा हाल १० सदस्य रहेका छन् । ओली समूहबाट संयोजकमा सुवास नेम्वाङ रहेका छन् भने नेपाल समूहबाट भीम रावल रहेका छन् ।
बुधबार बसेको कार्यदलका सदस्य गोकर्ण विष्टले पार्टी एकता हुनका लागि निष्कर्षमा पुग्न लागिएको बताएका थिए । त्यसको केही घन्टापछि अध्यक्ष ओली र नेपालबीच भेटवार्ता भएको छ ।
मंगलबार सिंहदरबारमा कार्यदलको बैठक चलिरहँदा उपत्यकाबाहिरबाट आएलगत्तै कोटेश्वरमा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नेपालबीच गम्भीर छलफल भएको थियो । जुन भेटवार्तालाई निकै अर्थपूर्ण हेरिएको छ । – फा’ईल तस्वीर ।