
काठमाडौं/ नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधिसभाका सांसदलाई आ कस्मिक कामबाहेक राजधानीबाहिर नजान निर्देशन दिएको छ। पार्टी संसदीय दलको बुधबार बसेको बैठकले यस्तो निर्देशन दिएको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन्।
‘जति बेला जे पनि हुन सक्छ, उपत्यकामा हुने सदस्यहरूलाई आ कस्मि कबाहेक पार्टीमा जानकारी दिएर मात्र जान निर्देशन भएको छ’, उनले भनिन्। सर्वाेच्च अदालतले मंगलबार १३ दिनभित्र संसद् बैठक डाक्न आदेश दिएकाले यस्ताे निर्देशन दिएकाे हो।
बैठकमा नेताहरूले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी दिएका थिए। बैठकमा शक्ति बाँडबाँटबारे कुनै छलफल नभएको झाँक्रीले बताइन्। संसद् विघटन बदर गर्न भूमिका खेल्ने न्यायालय, राजनीतिक दल, नागरिक समाज र जनतालाई धन्यवाद दिएको छ।
बैठकमा पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गरेका थिए। विकसित राजनीतिक घटनाक्रमबारे कतिपय विषयमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताएका थिए।
नेताहरूले पहिलो एजेन्डा असंवैधानिक बनिसकेका प्रधानमन्त्री ओलीको राजीनामा रहेको र त्यसपछि मात्र कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा धारणा राखेको प्रमुख सचेतक देव गुरुङले सञ्चारकर्मीलाई बताए।
संसद्मा दललाई प्रभावकारी अघि बढाउने विषयमा नेताहरूले आफ्ना धारणा राखेका थिए।