
काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा क्षमा पूजा गरेकी छिन् ।
पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि गरिएको क्षमापूजामा राष्ट्रपति सहभागी भएकी हुन् । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ ।
राष्ट्रपतिले आज क्षमापूजा गरेपछि जलहरी राखिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपति क्षेत्रमै कालीगढ राखेर नेपाली सेनाको सुरक्षासहित सुनको काम भइरहेको छ । मूल मन्दिरको जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले ३० करोडको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको छ ।
सुनको जलहरी बनाउन १०८ किलो सुन लाग्नेछ । गत माघ १२ पशुपतिनाथमा लाख बत्तीसहित विशेष पूजा गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न ३० करोड बजेट व्यवस्थाको घोषणा गरेका थिए । स्रोत नेपाल प्रेस