
काठमाडौ/ आमसभालाई सम्बोधन गर्न चितवन गएका आन्दोलनरत पक्ष नेकपा प्रचण्ड–नेपाल नेतृत्वको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आमसभामा सम्बोधन नगरी काठमाडौँ फर्केका छन्।
मंगलबार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गरेपछि परिवर्तित राजनीतिक घटनाक्रममा विशेष भूमिका खेल्न आमसभामा सम्बोधन नगरी काठमाडौ फर्किएका हुन् । सर्वोच्चको फैसला पछि प्रचण्ड नेपाल अब नयाँ सरकार गठनको रणनीतिमा लागेका छन् । त्यसका लागि उनीहरु काठमाडौ फर्किए पेरिसडाँडामा संसदिय दलको बैठकमा सहभागी हुने भएका छन् । त्यसका लागि ४ वजे बैठक बोलाइएको छ ।
चितवनबाट बिहान विमानमा काठमाडौं आएका प्रचण्ड र नेपालले देउवासँग विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने तयारी गरेका छन् ।
संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि मंगलबार कांग्रेसका सभापति शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्डले बधाई साटासाट गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि कांग्रेस र नेकपा प्रचण्ड नेपाल समूह विरोधमा सडक आन्दोलनमा उत्रिएका थिए।
सर्वोच्च अदालतको फैसलापछि नयाँ सरकार गठनको प्रक्रिया, नयाँ प्रधानमन्त्रीबारे बिभिन्न अड्कलबाजी भइरहेका बेला नेकपाका अध्यक्षद्वयले त्यसैबारे देउवालाई भेटेर छलफल गर्नेछन्। ओली हटेपछि नेकपाका प्रचण्ड वा नेपालमध्ये एक र कांग्रेस सभापति देउवालाई नै अब बन्ने प्रधानमन्त्रीका प्रवल दाबेदारका रुपमा लिइएको छ। सोही प्रस्ताव लिएर देउवालाई भेट्न जान लागेको अनुमान गरिएको छ ।