शुक्रबार ०५ कार्तिक २०७८

काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार) पशुपतिनाथ मन्दिरमा विशेष क्षमा पूजा गर्दैछिन् ।

पशुपतिनाथमा सुनको नयाँ जलहरी (पिठिका) स्थापनासँगै त्यसका लागि भइरहेको क्षमा पूजाको विशेष विधि पूर्वक राष्ट्रपति विद्यादेवी भण्डारीले समापन गर्ने भएकी हुन् । मंगलबार बेलुका ९ बजेको साइतमा पशुपतिनाथको मुल मूर्ति (शिवलिङ्ग) को फेदमा सुनको नयाँ जलहरी राखिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले जानकारी दिए । नयाँ जलहरी राख्ने क्रममा शिवलिङ्गलाई कुनै क्षति नभएको उनको भनाइ छ ।

जलहरी राख्ने उत्तम साइत मंगलबार बेलुका ९ बजेको भए पनि त्यसका लागि भइरहेको क्षमा पूजा तथा स्थापनार्थ गरिएको विशेष पूजाको समापन बुधबार हुने भएको छ । फागुन ८ गतेदेखि नै पशुपतिनाथ मन्दिरमा क्षमा पूजा भइरहेको छ ।

पूजामा भारतको कर्नाटकबाट आएका वेदका ज्ञाता पण्डितसहित यहाँका भट्ट तथा पण्डित गरि एक सय २१ जना पूजारी सहभागी छन् । राष्ट्रपति भण्डारी पशुपतिमा विशेष पूजाका लागि बिहान ११ देखि १२ बजेको बिचमा पशुपति क्षेत्र जाने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चाँदीको जलहरीमाथि सुनको नयाँ जलहरी राख्न लागिएको हो । एक सय आठ किलोको जलहरी निर्माणका लागि कोषले राष्ट्र बैंकबाट एक सय चार किलो सुन किनेको हो । बाँकी चार किलो चाँदी तथा तामा मिसाइएको छ ।

जलहरीका लागि आवश्यक सुन खरिद गर्न प्रधानमन्त्री ओलीले गएको माघ १२ गते पशुपतिनाथको दर्शनका बेला घोषणा गरे अनुसार सरकारले ३० करोड रुपैयाँ दिएको छ । बाँकी ६० करोड रुपैयाँ कोषले खर्च गरेको हो । शिव लिंगको फेदीमा रहेको योनी आकारको संरचना जलहरी हो । शिव लिंगलाई स्नान गरिएको पानी सोही जलहरी हुँदै बागमती किनारको ब्रह्मनालसम्म पुग्छ ।

४८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया