
काठमाडौं / कांग्रेस सभापति शेरबहादुर देउवाले पुनः नेतृत्वमा प्र’तिस्पर्धा गर्ने मनसाय व्यक्त गरेका छन् । आफ्नो निवासमा निकटका केही नेतालाई बोलाएर उनले यसबारे अवगत गराएका हुन् ।
उनले प्रदेशस्थित अगुवा नेतासँग छलफल गर्ने र धारणा बुझ्ने अभियान सुरु गरेका छन् । देउवाले शनिबार प्रदेश १ र प्रदेश २ का नेतालाई छुट्टाछट्टै बूढानीलकण्ठ बोलाएका थिए । प्रदेश १ को छलफलमा उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनील थापा, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, भीष्मराज आङ्दम्बे, सीता गुरुङ, सुजता परियार, रामकृष्ण भट्टराई, बाबुराम बस्नेत, डा. डिला संग्रौला लगायतका नेताहरु सहभागी थिए ।
त्यस क्रममा उनले पार्टीलाई एकढिक्का र सुदृढ बनाउन फेरि एकपटक नेतृत्व लिनुपर्ने अवस्था आएको बताएका थिए । बैठकमा सहभागी एक नेताले सभापति देउवाको भनाइ उधृत गर्दै भने, ‘फेरि नेतृत्व लिनुपर्ने स्थिति आयो । म फेरि लड्छु ।’ उनले लोकतन्त्र र संविधान रक्षाका लागि यो अवस्था आएको बताएका थिए ।
प्रदेश २ को छलफलमा उपसभापति बिमलेन्द्र निधि, आनन्द ढुंगाना, जंगिलाल रायलगायत नेता सहभागी थिए । सभापति देउवाले सातै प्रदेशका आफू निकट नेतासँग छलफल गर्ने भएका छन् । केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सभापति देउवाले आफू निकटसँग आन्तरिक छलफल गरेको जानकारी दिए ।
कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म निर्धारित छ । को’रोनाका कारण हुने/नहुनेमा भने अधिकांश नेता नै सशं’कित छन् । सभापतिका लागि यसपालि देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, उपसभापति बिमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतले रुचि देखाएका छन् । देउवाका विश्वासपात्र निधिले पनि उम्मेदवारी दिने बताइरहेका छन् ।