
एजेन्सी / बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यूकेले गरिब देशहरूलाई आगामी केही साताबाट खोपहरू उपलब्ध गराउन थाल्ने बताएका छन् । धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा उनले आफूलाई चाहिनेभन्दा बढी रहेका दश करोड खोप अर्को वर्षसम्म वितरण गर्ने बताएका हुन् ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले ९२ वटा न्यून तथा मध्यम आय भएका देशहरू र अफ्रिकी सङ्घलाई आधा अर्ब फाइजर खोपको मात्रा उपलब्ध गराउने घोषणा गरेका थिए ।
यूकेले ५० लाख खोप सेप्टेम्बर महिनाको अन्त्यसम्ममा उपलब्ध गराइने भन्दै यसै वर्षको अन्त्य सम्ममा अर्को २ करोड ५० लाख खोप वितरण गरिने जनाएको छ । प्रधानमन्त्री जोनसनले भने, ‘यूकेको खोप कार्यक्रमको सफलताका कारण हामी आफूसँग अतिरिक्त सङ्ख्यामा रहेका खोपहरू आवश्यकता रहेकाहरूलाई दिनसक्ने अवस्थामा छौँ।’
उनले शुक्रवार कोर्नवालमा सुरु हुने जी सेभेनको शिखर बैठकमा आफ्ना सहकर्मी नेताहरूले पनि यस्तै प्रतिबद्धता जनाउने अपेक्षा गरेको उल्लेख गर्दै अर्को वर्षको अन्त्यसम्म विश्वलाई नै खोप लगाइसक्नुपर्ने बताए।
कोर्नवालमा बोल्दै अमेरिकी राष्ट्रपति बाइडनले भने, ‘संयुक्त राज्य अमेरिकाले कुनै पनि स’र्त बिना खोपहरू उपलब्ध गराउँनेछ । हाम्रो खोप अनुदानमा हामीलाई कुनै किसिमको सहयोग गर्न दबा’ब वा सम्भावित छूट जोडिएको छैन। मानव जीवन रक्षा गर्न हामीले यस्तो गरिरहेका छौँ।’