सोमबार १५ जेठ २०८०

कलैया/ बाराको बारागढी–६ हेङ्गौलियास्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा नियम विपरीत शैक्षिक लाइसेन्सरहित त्यहाँ कार्यरत शिक्षिकालाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको छ ।

गाउँपालिकाले यही फागुन २ गते त्यहाँ पीसीएफ कोटामा कार्यरत शिक्षिका निभा मिश्रालाई गैरकानूनी रुपमा निमित्त प्र.अ.को जिम्मेवारी दिएको हो ।

गाउँपालिका अन्तर्गतका स्थायी शिक्षकलाई त्यहाँ पठाएर प्र.अ.को जिम्मेवारी दिनुपर्नेमा गाउँपालिकाका शिक्षा शाखाकी प्रमुख जलमती चौधरीले गापा अध्यक्षको मिलोमतोमा कानून विपरीत शैक्षिक अध्यापनको लाइसेन्सको म्याद सकेको ८ वर्ष वितिसकेका शिक्षिकालाई निमित्त प्र.अ.को जिम्मेवारी दिएकी हुन् ।

चौधरी गापामा कार्यभार सम्हालदेखि नै त्यहाँस्थित विद्यालयहरुको अवस्था भद्रगोल बन्दै गएको छ । चौधरीले आफ्नो मनोमानी रुपमा शिक्षक सरुवा गर्ने, नियुक्ति गर्ने कार्य गरेको कारण हेङ्गौलिया स्कुल मात्र नभई गाउँपालिका अन्तर्गतका अधिकांश स्कुलको अवस्था दयनीय बन्दै गएको छ ।

व्यवस्थापन समिति विहीन रहेको उक्त स्कुलका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष सरोज मिश्राले आफ्नो पारिवारिक स्कुल बनाएका छन् । बाराको निजगढस्थित सिंगौल स्कुलमा राहत कोटामा अध्यापन गराउँदै आएका मिश्रा बारागढी–६ हेङ्गौलिया निवासी हुन् । उक्त स्कुलमा मिश्राका परिवारका तीन महिला सदस्य काम गर्ने गरेका छन् ।

स्कुलमा नियुक्तिको विषयलाई लिएर विवाद उत्पन्न भएपछि अध्यक्ष पदलाई राजीनामा दिदै मिश्रा आफ्नो कार्यस्थल सिंगौल स्कुल फर्केका छन्, भने हेङ्गौलियास्थितको स्कुल व्यवस्थापन समिति विहीन बनेको छ । अभिभावक विहीन रहेको अवस्थालाई मौका छोप्दै उनका भाउजु निभा मिश्राले उक्त विद्यालयलाई आफ्नो कब्जामा लिने प्रयासमा छिन् ।

नेपाल सरकरको नियम अनुसार १ जना स्थायी, १ जना गापा तथा १ जना बालविकास अन्तर्गत शिक्षक खट्नुपर्ने हो र यही नियमानुसार गाउँपालिकाले स्थायी शिक्षक भागवत साहलाई यही माघको तेश्रो हप्तामा उक्त विद्यालयमा सरुवा गरेर पठाएको थियो तर, उनी उपस्थित नहुँदै पुनः अन्यत्र पठाइयो ।

सरुवा गरिएका शिक्षक भागवत साहका अनुसार आफूलाई हेङ्गौलिया स्कुलमा सरुवा गरिएको भनेर जानकारी आएपश्चात आफू चिठी बुझ्न जाँदा शिक्षा शाखा प्रमुख जलमती चौधरीले तपाईलाई त्यहाँ नपठाउन आफूलाई धेरै दबाब सिर्जना भएको भन्दै आफ्नो कार्यस्थलमा काम गर्नु भनेर फर्काएको बताए ।

सरुवा गरिएको ठाउँमा गएपनि एक महिना नवित्दै पुनः फर्काइने भएकोले आफ्नो ठाउँमै बस्दा ठीक होला भनेर चिठी समेत बुझ्न नदिइएको शिक्षक साहको भनाइ छ । यता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले त्यहाँ स्थायी शिक्षक नभएको कारण २०७८ असार मसान्तसम्मको लागि निभा मिश्रालाई निमित्त प्रअको जिम्मेवारी दिइएको बताए ।

जिरो दरबन्दीमा स्कुल रहेको कारण कसैको त्यहाँ दरबन्दी छैन, तर गापाले स्थायी शिक्षक पठाउँदा कसैले जान नमानेपछि त्यही पिसिएफ कोटामा कार्यरत शिक्षिका मिश्रालाई तत्कालको लागि जिम्मेवारी दिइएको बताए ।

उनका अनुसार उनीसँग रहेको लाइसेन्सको म्याद पनि सकिसकेको भनेर जानकारी आएकोले उनीलाई २५ दिनभित्र नयाँ लाइसेन्स बुझाउन निर्देशन दिदै प्रअको जिम्मेवारी दिइएको बताए ।

१२८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया