
काठमाडौं / एनसेल आजियाटा लिमिटेडले जेठ ३१ देखि लागू हुने गरी विश्वका १९ देशहरुको अन्तर्राष्ट्रिय कल शूल्क परिमार्जन गरेको छ । नयाँ शूल्कहरु नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दूरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेका छन् ।
गत जेठ ९ गते नेपाल दुरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरि १९ देशहरुका लागि नयाँ अन्तर्राष्ट्रिय कल शुल्कको स्वीकृती प्रदान गरेको थियो ।
प्राधिकणबाट प्राप्त यो स्वीकृतिसँगै यी देशहरुका लागि एनसेलको अन्तर्राष्ट्रिय कल शुल्क अब अरु सेवा प्रदायकहरुले प्राधिकरणको स्वीकृति बमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ ।
नयाँ परिमार्जित अन्तर्राष्ट्रिय कल शुल्क अनुसार माथि उल्लेखित १८ वटा देशहरुको शुल्क कर बाहेक प्रति मिनेट रु ३० निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रति मिनेट कल शुल्क कर बाहेक रु ३०.६५ निर्धारण भएको छ ।
यसअघि उक्त देशहरुमा कल गर्दा गन्तव्य देश अनुसार प्रति मिनेट रु ४.९९ देखि रु १५ सम्म लाग्ने गरेको थियो । अझैपनि माल्दिभ्सको लागि एनसेलको प्रति मिनेट कल शुल्क अरु सेवा प्रदायकले लिने शुल्क भन्दा निकैनै कम रहेको छ ।
अन्तर्राष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निकैनै कम भएको र सम्बन्धित देशका साझेदारहरुले सन् २०१६ देखि आफ्नो शुल्क बढाएको कारणले गर्दा विगत ५ वर्षदेखि एनसेलले अन्तरराष्ट्रिय कल बापतको राजस्वमा ठूलो नोक्सानी व्यहोर्दै आएको छ ।
साथै यसअघि एनसेलले यी देशहरुका लागि प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय शुल्क अन्य सेवा प्रदायकहरुको स्वीकृत कल शुल्क भन्दा ६ गुणा कम दरमा ग्राहकहरुलाई अन्तर्राष्ट्रिय कल सुविधा प्रदान गर्दै आएको थियो ।
सन् २०१६ देखि अप्रिल २०२१ सम्ममा एनसेलले अन्तरराष्ट्रिय कल सेवामा अव्यवहारिक नोक्सानी व्यहोरेको छ । विगत ५ वर्षमा एनसेलले अन्तरराष्ट्रिय कलबाट हुने आयमा रु २७.५ करोड भन्दा बढी नोक्सान भोगेको छ ।
केही यूरोपियन गन्तव्यहरुमा कल गर्दा लाग्ने शुल्क अझै पनि स्वीकृत दरभन्दा निकै बढी रहेकोले हाल यी देशहरुका लागि गरिएको शुल्क परिमार्जन पश्चात पनि ग्राहक सेवा सुनिश्चित गर्ने क्रममा एनसेल अझै पनि घाटामै रहने छ ।
प्राधिकारणबाट स्वीकृत कल शुल्क प्रतिमिनेट रु ३० रहे पनि कल गरिने गन्तव्य देश अनुसार कुनै—कुनै यूरोपियन गन्तव्यहरुको कल शुल्क कर बाहेक रु १,१७०.३० सम्म रहेको छ ।
गुणस्तरीय सेवा सुलभ दरमा प्रदान गर्न र डिजिटल कनेक्टिभिटी अझ बढाउदै यसले दिने लाभहरुसँग सबैलाई जोड्न एनसेल प्रतिबद्व छ । एक जिम्मेवार कपोर्रेटको रुपमा एनसेलले सबै नियम तथा कानूनको पूर्णरुपमा परिपालना गर्दै आएको जनाएको छ ।