सोमबार २० मंसिर २०७८

काठमाडौं / नेकपा (एमाले) नेता वामदेव गौतमले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
नेपाल सरकारका उपप्रधानमन्त्री महतोले संविधान विपरीत काम गर्ने छैन भन्दै शपथ लिएको आधा घण्टामै बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलनको कुरा गरेको भन्दै गौतमले आपत्ति जनाएका हुन्।

‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्ने छैन भनि शपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दु:’खी भएको छु’, गौतमले भनेका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले महतोको यो कुराले आफूलाई दुः’खी बनाएको उल्लेख गर्दै संविधानको धारा ३ मा नेपाल अनेकौं विशेषता सहितको राष्ट्र भएको उल्लेख गरेको सम्झना गरेका छन्। गौतमले संविधानको धारा ४ मा अनेकौ विशेषतासहितको नेपाल राज्य भनेको उल्लेख गर्दै नेपाल एउटा मात्र राज्य भएको प्रष्ट पारेका छन्।

‘नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो। त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो। यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो’, गौतमले फेसबुकमा लेखेका छन्, ‘राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन।’

नेता महतोले अहिले पनि सञ्चालन गरिरहेको कथित आन्दोलनले नेपाललाई विखण्डन गर्ने भन्दै उनले आपत्ति जनाएका हुन्। गौतमले नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका लागि स्वीकार्य नहुने प्रष्ट पारेका छन्। उनले यो मागको विरोध र अस्वीकार मात्र गर्न सकिने उल्लेख गरेका छन्। ‘नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनी देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन’, उनले थप लेखेका छन्, ‘राजेन्द्रजीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ।’

यो विषयमा प्रधानमन्त्री केपी ओलीले अनविज्ञता प्रकट गरेकोप्रति समेत आफू चकित परेको गौतमको भनाइ छ। शनिबार सामाजिक सञ्जाल फेसबुकमा उपप्रधानमन्त्री गौतमको अभिव्यक्तिप्रति गौतमले आपत्ति जनाएका हुन्।

‘प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्य चकित भएको छु’, उनले थप भनेका छन्।

२८० पटक हेरिएको

तपाईको प्रतिक्रिया