बिहिबार १६ आषाढ २०७९

धनगढी / कैलालीको टीकापुर नगरपालिका–९ का तपेन्द्र साउद फागुनमा भारतको छत्तिसगढबाट घर फर्किएका थिए। त्यति बेला भारतमा दैनिक ३–साढे ३ लाखमा कोरोना पुष्टि भइरहेको थियो। ‘भारतभन्दा आफ्नै देश सुरिक्षत लाग्यो। त्यहाँ सबै होटल, कम्पनी, उद्योग बन्द भए अनि म घर आएँ’, साउदले भने।

तर, उनी तीन महिनामै फेरि भारत पसेका छन्। ‘तीन महिना घरमै बसेँ। कामधाम केही छैन। नुन, तेलको खर्च निकाल्ने रोजगार पनि छैन’, गौरीफन्टा नाका भएर छत्तिसगढ हिँडेका उनले भने, ‘अब मरे भारतमै मरिन्छ भनेर हिँडेको।’

टीकापुरमा उनको परिवारमा ७ सदस्य छन्। परिवारमा कमाउने उनी एक्ला रहेछन्। ६ कट्ठा जग्गा छ। ‘पाँच कट्ठाको उब्जनीले तीन महिना पनि पुग्दैन। भारत नगएर के गर्नु सर ?’, उनले भने।

छत्तिसगढमा उनी साहूको घरमा खाना पकाउने काम गर्छन्। ‘सेठले बोलायो। कोरोना कम भइसक्यो आइजा भन्यो। मलाई पनि कति बेला जाऊँ भन्ने भइरहेको थियो’, उनले भने, ‘किनभने खर्चपर्च केही थिएन। अब कोरोनाले जे–जे होला, देखा आऐगा।’

टीकापुरकै नरबहादुर साउद पनि शुक्रबार उनीसँगै छत्तिसगढ हिँडेका छन्। नरबहादुर त्यहाँ मोःमोः बनाएर बिक्री गर्छन्। ‘दिनमा ५ हजारदेखि १० हजारको बिक्री हुन्छ। त्यसबाट दिनमा डेढ–२ हजार त बचिहाल्छ’, उनले भने, ‘फागुनमा लकडाउन भएकाले घर आएँ। भेटघाट हुन्छ भनेर पनि आएको। अब छत्तिसगढमा लकडाउन हटिसक्यो। त्यै भएर जान लागेको।’

नरबहादुरको १० कट्ठा जग्गा छ। ‘८ जनाको परिवार छ। त्यो १० कट्ठाले ६ महिना अन्न मात्रै हुने भयो। बाँकी ६ महिनाको अन्न, छोराछोरीको पढाइ खर्च, श्रीमती, बाआमाको खर्च कहाँबाट ल्याउने ?’, उनले भने, ‘नेपालका नेता राजनीति मात्रै गर्छन्। जनताका लागि रोजगार केही होइनन् दिने ? के गर्नु देशको माया लागे पनि ! मायाले त पेट भरिन्न।’

अछामका दीपक रावत पनि भारतको हरियाणा पसेका छन्। लकडाउनका बेला आएका उनका बुवाको मृत्यु भयो। ‘कोरोना त जाँच गराएनौं। त्यस्तै लक्षण थियो। बित्नुभयो’, उनले भने, ‘किरिया सकेर भारत पसेको। बुवाको किरिया घरमै बसेर गर्न पाएको भए कति राम्रो हुन्थ्यो तर हातमुख जोड्ने उपाय त केइ नाई, के गरेर बस्ने ?’

पदमराज अवस्थी ६० वर्षका भए। अवस्थी पनि शुक्रबार भारतको पुना हिँडेका छन्। पुनामा लकडाउनको हल्ला सुन्ने बित्तिकै गत वर्षजस्तो सीमा नाकामा रोकिनुपर्ने हो कि भन्ठानेर उनी फागुन मै घर फर्किएका थिए। ‘पोहोर सालजस्तै भारतको सीमानामा रोकिदिन्छन् कि, त्यस्तै दुःख होला भन्ठानेर पुनामा लकडाउन हुन अघि नै फर्केको थिएँ’, उनले भने।

अवस्थीले खोप पनि नपाएको गुनासो गरे। सरकारले ६० वर्षदेखि ६५ वर्षसम्मका नागरिकलाई खोपको व्यवस्था नगरेको उनको भनाइ छ। ‘घरमा बालबालिकाको खर्च, बुवा आमा पनि हुनुहुन्छ। उहाँहरूको खर्चका लागि पनि भारत जानै पर्ने बाध्यता छ’, उनले भने। पुनामा उनी होटलमा काम गर्ने रहेछन्। ‘होटल साहूले फोन गरेर बोलायो। बजार खुलिसकेको रहेछ। कोरोना छ भन्ने थाहा छ, घरबाट पनि नजानु भन्दै थिए’, उनले भने, ‘तर जिन्दगी चल्नु त पर्‍यो नि ! कसरी नजानु ? घरदेश कसलाई नराम्रो लाग्छ र ?’

सुदूरपश्चिमका सीमा नाकाबाट कोरोना महामारीमै दैनिक ७–८ सय नेपाली भारत पसिरहेका छन्। त्यसकै हाराहारीमा नेपाल फर्किरहेका पनि छन्। नेपाल–भारत सीमा क्षेत्रमा राखिएको तथ्यांकअनुसार जेठ ११ पछि भारत पस्ने र फर्किनेको संख्या बराबरी हुन थालेको हो। ‘भारत जाने नेपालीको संख्या दिनदिनै बढिरहेको छ। कुनै दिन त आउनेभन्दा जानेको संख्या बढी हुन्छ’, गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेशबहादुर साउदले भने।

जेठ ११ यता भारतबाट फर्किनेको संख्या ६ हजार ५ सय ५७ रहेकोमा भारत पस्नेको संख्या त्यसको केही कम ६ हजार २ सय छ। जबकि त्यसअघिको पाँच दिनको मात्रै तथ्यांक (जेठ ५ गतेदेखि १० गतेसम्म) नेपाल फर्किनेको संख्या ३ हजार ८ सय ८१ थियो। १ हजार ६ सय ५४ जना मात्रै भारत गएका थिए। – शिवराज भट्ट, अन्न’पुर्ण पो’ष्टबाट ।

४१० पटक हेरिएको

तपाईको प्रतिक्रिया