बिहिबार ०६ माघ २०७८

राजविराज / कोरोना भाइरस संक्रमणको डरले निषेधाज्ञा लागेको सुरुका केही दिन राजविराज–६ का राजकुमार मण्डल व्यवसाय बन्द गरेर सपरिवार घरभित्रै बसे। पैसा सकिँदै गएपछि श्रीमती, तीन छोराछोरी र बुवाआमासहित सात जनाको परिवार पाल्न बाध्य भएपछि ठेला लिएर निक्लिए।

लकडाउन अघि तरकारी बिक्री गर्ने मण्डलको ठेलामा आँप, स्याउ, अंगुरका झुप्पा छन्। राजविराज हटियामा तरकारी, चिया, नास्ता बिक्रीमा रोक लागेपछि धेरैजसो साना व्यापारी अहिले अस्पताल क्षेत्र र टोलटोलमा ठेला गुडाउँदै फलफूल बिक्री गर्छन्।

मौसमअनुसार आँप, लिची, तरबुजा, केरा, स्याउ, अंगुर बिक्री गर्न थालेको उनीहरूको भनाइ छ। मानिसहरूको आवतजावत नहुने गरी निषेधाज्ञा लागेपछि तरकारी व्यापारी अरबिन्द दासले पनि भाँडामा लिएको ठेला गुडाउँदै फलफूल बेच्न थालेको बताए।

‘हाट बजारमा बस्दा जरिवाना गर्छ।’ तरकारी छाडेर तरबुजा बेच्न थालेका दास भन्छन्– ‘टोलहरूमा ठेला घुमाएर बेच्दा भने प्रहरीले रोकटोक गरेको छैन्।’ ठेला व्यापारीहरूको भनाइमा सबैभन्दा ठूलो मारमा उनीहरू परेका छन्। ‘धनी, सम्पन्नलाई खाद्यान्नको चिन्ता छैन्, अर्कोतिर गरिब, विपन्नको घरघरै पुगेर सामाजिक संघसंस्था एवं मनकारी व्यक्तिहरूले राहत वितरण गरिरहेका छन्’ तरकारी छाडेर फलफूल बेच्न थालेका श्रवण दासले भने– ‘बाँकी हामी घरका न घाटका भएका छौ।’

‘हामी साना व्यापारी राहतका लागि हात पसार्न पनि सक्दैनौं, व्यापार पनि चलेको छैन्’ राजविराज–५ का शंकर साफीले दुःखेसो गरे। लकडाउनले खल्ती रित्तिँदै गएको छ। राजविराजमै सानो घर भए पनि सानोतिनो व्यापार गर्ने र सबथोक किनेर खाने वर्गको आर्थिक स्थिति नाजुक बन्दै गएको साफीको भनाइ छ।

सानोतिनो व्यापारकै भरमा सहरमा टिकेकाहरूलाई सबथोक किनेर खानलाई पैसा छैन। खाद्यान्न सामग्रीका सवारीसाधन खुला भए पनि लकडाउन पछि ठूला व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गर्दै दाल, तेल, मसलामा झन्डै दुई गुणासम्म मूल्यवृद्धि गरेका छन्। सरकारले आपूर्ति व्यवस्था राम्रो भने पनि किराना व्यवसायीले लकडाउनमा सामान आपूर्ति नभइरहेको र महँगोमा किन्नु परेको बताउँदै आएको छ।

महँगिएको सामान किनेर खाँदा साना व्यापारीहरूको खल्ती रित्तिएको छ। ‘गरिब र विपन्नका लागि गत वर्ष नगरपालिकाले सोच्यो, यसपटक विभिन्न संस्था र मनकारी व्यक्तिहरूले घरमा राहत पुगाएको देख्छु।’ फलफूल व्यापारी मुकेश स्वर्णकार भन्छन्– ‘दिनहुँ गरिखाने वर्गको बारेमा सबै निकाय बेखबर छ।’ उनी थप्छन्, ‘हामीले राहत माग्यौं भने पनि कसैले पत्याउँदैन।’

घरभित्रै सबथोक भएका सम्पन्न वर्ग बाहेक अन्यको हकमा लकडाउनमा जीवन धान्न कठिन र तनावपूर्ण छ। दैनिक हुने व्यवसायमा भर पर्ने र किनेर खाने वर्गका लागि लकडाउन लम्बिँदा उनीहरू सबैभन्दा मारमा परेका छन् । पसल सटर भाडामा लिएर चियानास्ता, तरकारी र साना व्यवसाय गर्नेको हिसाबकिताबको सन्तुलन बिग्रेको छ । (अन्न’पुर्ण पो’ष्टबाट )

१५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया