मंगलबार ०९ आश्विन २०८०

काठमाडौं / लामो समयदेखि दूरसञ्चार सेवाको लाइसेन्सका लागि प्रयत्नरत चौधरी ग्रुप इन्टरनेट सेवा प्रदायकका रुपमा आइएसपी बजारमा छिरेको छ । चौधरी ग्रुपले सिजी नेटमार्फत् काठमाडौं उपत्यकाबाट इन्टरनेट सेवा सुरु गरेको छ । लामो समयदेखि दूरसञ्चार सेवाको लाइसेन्सका लागि प्रयत्नरत सिजीले इन्टरनेट सेवा प्रदायकका रूपमा भने मंगलबारबाट सेवा सुरु गरेको हो ।

ललितपुरको जावलाखेल वरपरका उपभोक्ताहरुले तत्काल सेवा प्रयोग गर्न सक्ने सिजी नेटका कस्टमर एक्सपेरियन्स म्यानेजमेन्ट प्रमुख गणेश क्षेत्रीले जानकारी दिए । केही समयभित्रै उपभोक्ताहरुले देशैभर सेवा पाउने गरी कम्पनीले तयारी गरिरहेको उनले बताए ।

सिजी नेटले उपभोक्ताहरुलाई सेवा प्रारम्भको अफरस्वरुप तत्काल १२० एमबीपीएसको प्याकेज मात्रै सार्वजनिक गरेको छ । यो प्याकेज एक, तीन, ६ र १२ महिनामा उपलब्ध गराएको छ । आवासीय र व्यापारिक दुवै प्रयोजनका लागि उपभोक्ताहरुले यो सेवा जडान गर्न सक्ने बताइएको छ ।

कम्पनीले उपभोक्तालाई उपलब्ध गराएको सबै प्याकेज खरिद गर्दा जडान र ड्रप-वायर (नजिकको प्वइन्टदेखि घरसम्म जोड्ने तार) को शुल्क भने तिर्नु नपर्ने जनाएको छ । सिजी नेटले उपभोक्ताहरुलाई १२० एमबीपीएस स्पीडको मूल्य एक महिनाको भ्याटबाहेक ९९९ रुपैयाँ तोकेको छ ।

एक महिने प्याकमा एकपटक तिर्नुपर्ने गरी सिंगल ब्याण्ड राउटरको २५ सय रुपैयाँ, डुअल ब्याण्ड राउटरको ३५ सय रुपैयाँ र रिफन्डेबल डिपोजिट पाँच सय रुपैयाँ तिर्नुपर्ने जनाएको छ । यसबाहेक तीन, ६ र १२ महिने प्याकेज लिँदा उपभोक्ताले राउटरमा छुट पाउनेछन् । मासिक शुल्क भने कुनै पनि अवधिको प्याकेजमा यथावत रहेको छ ।

सिजी नेटले तीन महिने प्याकको भ्याटबाहेक दुई हजार नौ सय ९७ रुपैयाँ तोकेको छ । जसमा सिंगल ब्याण्ड राउटरको दुई हजार रुपैयाँ, डुअल ब्याण्ड राउटरको तीन हजार रुपैयाँ र रिफन्डेबल डिपोजिट पाँच सय रुपैयाँ तिर्नुपर्ने जनाएको छ ।

कम्पनीले १२० एमबीपीएस स्पीड इन्टरनेटको ६ महिने प्याकेजको भ्याटबाहेक पाँच हजार नौ सय ९४ रुपैयाँ तोकेको छ । जसमा सिंगल ब्याण्ड राउटरको १५ सय रुपैयाँ, डुअल ब्याण्ड राउटरको २५ सय रुपैयाँ र रिफन्डेबल डिपोजिट पाँच सय रुपैयाँ तिर्नुपर्ने जनाएको छ ।

यस्तै, १२ महिने प्याकेजको मूल्य सिजी नेटले भ्याटबाहेक ११ हजार ९८८ रुपैयाँ तोकेको छ । यो प्याकेजमा उपभोक्ताहरुले रिफन्डेबल डिपोजिट पाँच सय रुपैयाँ मात्रै अतिरिक्त तिर्नुपर्ने कम्पनीले जनाएको छ । यो प्याकेजमा राउटर नि:शुल्क दिने कम्पनीको तयारी छ । डिसहोमपछि नेपाली बजारमा इन्टरनेट सेवा प्रदायकको रूपमा ठूलो लगानीसहित भित्रिने कम्पनी सिजी नेट नै हो ।

३८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया