
काठमाडौ / संक्रमित भएर अस्पतालको भेन्टि’लेटरमा उपचारार्थ विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। हिँजो गरिएको स्वास्थ्य रिपोर्टमा कोरोना नेगेटिभ देखिएको हो ।
विवेकशील साझा पार्टीका प्रदेश सांसद विराजभक्त श्रेष्ठका अनुसार उनको स्वास्थ्य अवस्था भने उस्तै छ । स्वास्थ्य अवस्थामा सुधार नआएको चिकित्सकहरुले बताएका छन् । संक्रमित रहेका उनलाई ग्राण्डीवाट अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा राखेर उपचार जारी छ ।
‘उहाँको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ, अब यसपछि केकस्तो उपचार विधि अपनाउने भन्नेबारे अहिले डाक्टरहरुले परामर्श गरिरहनुभएको छ,’ श्रेष्ठले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिदै भने । रिपोर्ट नेगेटिभ आएपनि उनको स्वास्थ्यमा भने उल्लेख्य सुधार नभएको उनको भनाई छ ।
थापाको अवस्था अत्यन्त जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको हो। आइतबार थापाका परिवारजनले दिएको जानकारीनुसार उनको ईसीएमओ प्रविधिको सहयोगमा विशेषज्ञहरुबाट, अस्पतालभन्दा बाहिरका विशेषज्ञहरूको समेत राय सल्लाहअनुसार उपचार गरिएको छ।
सो जानकारीमा उज्वलको अवस्था जटिल हुँदै गएको बताइएको थियो। ‘उहाँको उपचारको क्रममा उपलब्ध सबै विधिहरूको प्रयोग गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराउनु भएको छ,’ परिवारजनले दिएको जानकारीमा उल्लेख छ।