
काठमाडौं / विवेकशील साझा पार्टीका नेता उज्वल थापाको परिवारले उपचारका लागि बिएण्डसी मेडिकल कलेजका सञ्जालक दुर्गा प्रसाईंले गरेको सहयोग प्रस्ताव अस्वीकार गरेको छ ।
शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै भेन्टिलेटरमा उपचाररत उज्वल थापाको सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने घोषणा गरेका थिए । तर शनिबार नै परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट थापाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरिएको प्रेस नोटमा उक्त सहयोग अस्वीकार गरिएको हो ।
हाल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले प्रसाईँले दिने भनेको सहयोग आवश्यक नपर्ने थापाको परिवारजनका तर्फबाट शनिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रसाईँले यसअघि थापाको उपचारमा लाग्ने सम्पूर्ण सहयोग आफूले व्यहोर्ने घोषणा गरेका थिए। तर थापाको परिवारले मेडिकल व्यवसायी प्रसाईँको सहयोग अस्वीकार गरेको हो । बिज्ञप्ति तल पढ्नुहोस :
दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँको सहयोग आवश्यक नपर्ने जानकारी ।
नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्न भूमिका खेलेका विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापा करिब दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहनु भएको तपाईंहरूलाई अवगतै छ।यस क्रममा अहिले नेपाल मेडिसिटी अस्पतालमा ECMO प्रविधिबाट उहाँको उपचार भैरहेको जानकारी गराउन चाहन्छौँ ।
चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उहाँका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको पनि विदितै छ । यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको छ ।
त्यस खातामा सहयोग गर्ने उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति हामी कृतज्ञ छौँ र तपाईंहरूले व्यक्त गर्नुभएको सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । उज्वलको स्वास्थ्यप्रति तपाईंहरूको साथले हामीलाई आड भरोसा मिलेको छ।सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासन/प्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ ।
हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।