आइतबार ०७ कार्तिक २०७८

म्यानमार / बर्मा स्वतन्त्र हुँदा यहाँका पहाडी क्षेत्रहरुमा सयभन्दा बढी नेपाली–गोर्खाली बस्ती भएको तथ्याङ्क तत्कालीन बर्मा सरकारले निकालेको थियो । स्थानीय कचिन प्रान्तमा नेपालीहरुले छुट्टै क्षेत्र पाउने बर्माकी राजनेता एवं हालकी शक्तिशाली नेतृ आङ सान सुकीका बुवा आङ साङले कचिन प्रान्त र नेपालीभाषीसँग सहमति गरेका थिए ।

कठिन परिस्थिति झेलेर पनि बर्मामा अहिले झण्डै दुई लाख नेपालीहरु बसोबास गरिरहेका छन् । ती मध्ये ५० हजारजति थाइल्याण्डतिर बसाइँ सरेका छन् । यहाँ रहेका नेपालीहरुको गाउँबस्ती घुम्दा नेपालकै गाउँ घुमेको प्रतीत हुन्छ । नेपालीहरुले मान्दै आएका सबै पर्व यहाँ धुमधामसँग मनाइन्छ । बर्मेली सरकारले नेपाली भाषालाई मान्यता नदिए पनि मन्दिरहरुमा नेपाली भाषामा कक्षा एकदेखि १० कक्षासम्म पढाइ हुन्छ ।

झण्डै ५० वर्ष सैनिक सरकारले ‘एक भाषा एक देश’ र ‘एक धर्म’ को नीति लगाउँदा पनि बर्माका नेपालीहरुले आफ्नो भाषा, हिन्दु धर्म र संस्कृतिलाई बचाएका छन् । निरङ्कुश अवस्थामा पनि ‘बर्मामा नेपाली बचाऊ’ अभियानमा धेरै व्यक्तिहरुले योगदान दिएका छन् । ती मध्ये भाषा, साहित्य र शिक्षण क्षेत्रमा ठाकुर गुरागाईंको नाम उच्च स्थानमा छ ।

विभिन्न जात जातिले आफ्नो अधिकार खोज्दै जाँदा देश टुक्रन्छ भन्ने भ’य देखाएर बर्मा फौजले सन् १९६२ मा सैनिक शासन सुरु गर्‍यो । बर्मेली जाति र भाषालाई मात्र हित हुने गरी संविधान बनायो । यसले अन्य जातिको जस्तै नेपाली भाषाको पठन–पाठनमा पनि असर गर्‍यो ।

विभिन्न जातजातिका विदेशी मूलका मानिसलाई देश छाड्न उर्दी जारी भयो । सैनिक सरकारको डरले धेरै विदेशीसँगै हजारौं नेपालीहरु भारत र नेपाल फर्किए । अहिले पनि बर्माबाट फर्किएका हजारौं नेपालीभाषीहरु भारतका त्रिपुरा, मिजोरम, नागाल्याण्ड जस्ता राज्यमा बसोबास गर्छन् ।

साहित्यकार एवं लेखक ठाकुर गुरागाईं तिनै व्यक्ति हुन्, जसले कठोर सैनिक शासनका बेला बर्मामा स–साना बालबालिकालाई नेपाली भाषा शिक्षण सुरु गरे । बन्द समाज भएका कारण कक्षा १ देखि १० सम्मका नेपाली पाठ्यक्रम हातैले लेखेर तयार पारे । यस्ता पुस्तकहरुलाई बर्माभरि छरिएर रहेका सयौं मन्दिरहरुमा धार्मिक पुस्तकका रुपमा पढाउने व्यवस्था मिलाए । सन् १९७५ देखि सुरु भएको यो अभियानकै कारण विलय भैसकेको नेपाली भाषा पुनः मौलाएको छ ।

आज बर्मामा रहेका ८० प्रतिशतभन्दा बढी नेपालीहरु नेपाली भाषामा लेखपढ गर्न सक्छन् । ९८ प्रतिशत नेपालीहरु नेपाली भाषामै घर ब्यवहार चलाउँछन् । बर्मामा ठाकुरप्रसाद गुरागाईंका गीत कण्ठ नभएका बिरलै नेपाली भेटिन्छन् । क’ठो र सैनिक शासनका बेला पनि नेपाल बाहिर नेपाली भाषा बचाउन सं’घ र्ष गरेको भन्दै मदन पुरस्कार गुठीले ठाकुरप्रसाद गुरागाईंलाई ०५४ सालमा जगदम्बाश्री सम्मान प्रदान गरेको थियो ।

उनी हालै म्यान्मारको प्रजातान्त्रिक सरकारबाट पनि सम्मानित भएका छन् । बालबालिकाका लागि सयौं गीत, कविता र लेख लेखेका गुरागाईंका ६ उपन्यास, एक कथा सङ्ग्रह, एक निबन्ध सङ्ग्रह र एउटा कविता सङ्ग्रह प्रकाशित छन् । उनका केही पुस्तक बर्मेली भाषामा अनुवाद पनि भएका छन् ।

३८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया