शुक्रबार १७ चैत्र २०७९

काठमाडौ/ अरब सागरमा विकसित चक्रवातबाट नेपाल पनि प्रभावित हुने मौसमविद्ले बताएका छन् । ‘ताउ ते’ नाम दिइएको यो चक्रवातका कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने मौसमविद्को पूर्वानुमान छ ।

‘नेपालमा चक्रवातको असर भोलि (सोमबार) देखि नै देखिन थाल्छ । भोलि विशेष गरी पश्चिम भूभागमा बदली हुन्छ’ मौसमविद् मञ्जु वासीले भनिन्, ‘अहिलेसम्मको विश्लेषणअनुसार पर्सि देशैभर बदली गराउँछ र वर्षा पनि हुन्छ ।’ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको हो ।

अहिलेसम्मको विश्ले’षणअनुसार मंगलबार र बुधबार खासगरी देशको पश्चिमी भेगमा हल्कादेखि मध्यम वर्षाका साथै हावाहुरी पनि चल्ने सम्भावना छ । साथै त्यसको असर मध्य क्षेत्रसम्म पनि आइपुग्ने सम्भावना छ ।

‘अहिलेसम्म चक्रवात समुद्रमै छ, भोलितिर त्यो भारतको गुजरात जमिनमा प्रवेश गर्ने सम्भावना छ,’ मौसमविद् बासीले भनिन्, ‘जमिन प्रवेश गरेपछि त्यसले कुन दिशा समात्छ भन्ने कुराले नेपालमा पर्ने असर अनुमान गर्न सकिन्छ ।’

चक्रवात समुद्री तटमा रहँदासम्म त्यसको ‘ट्रयाक’ सजिलैसँग अनुमान गर्न सकिने तर त्यो जमिनमा प्रवेश गरेपछि कुन बाटो लाग्छ भन्ने अनुमान गर्न कठिन हुने उनले बताइन् ।

आइतबार बिहान करिब ११ बजे सम्मको विश्लेषणअनुसार यसले खासगरी नेपालका पश्चिमी क्षेत्र र मध्य तथा पूर्वका पहाडी भेगमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा गराउने सम्भावना देखिएको उनले बताइन् ।

भारतका मौसमविद्का अनुसार अरब सागरमा बनेको सामुद्रिक आँधी (चक्रवात) उत्तरतर्फ अघि बढिरहेको छ र गोवाको पन्जिमदेखि लगभग २५० किलोमिटर दक्षिण–पश्चिम र मुम्बईदेखि ६२० किलोमिटर दक्षिण–दक्षिण–पश्चिम पुगेको छ । चक्रवातका कारण तमिलनाडुका तटीय जिल्ला र लक्षद्वीप टापुका क्षेत्रमा पनि ठूलो वर्षा भइरहेको छ ।

बेला–बेला आउने यस्ता चक्रवातको नाम राख्ने चलन छ । अहिले अरब सागरमा विकसित चक्रवातको नाम ‘ताउ ते’ राखिएको छ । यसपटक म्यानमारले यो चक्रवातको नाम राखेको हो । एक प्रकारको हिं’स्रक माउसुलीलाई बर्मी भाषामा ‘ताउ ते’ भन्ने गरिन्छ ।

१२३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया