
फाल्गुन महिनाको सङ्क्रान्ति शनिवार परेको छ तर सूर्यको राशि सङ्क्रमणको समयमा शुक्रवारकै संयोग परेको छ र उक्त समयमा शतभिषा नक्षत्र, परिघ योग, बालब करण, आनन्दादि धाता योग, बृश्चिक लग्न, सिंह नवमांशक, कुम्भ राशिको चन्द्रमा र उद्वेग वारवेला रहेको देखिन्छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले फाल्गुन महिनाभरि कुम्भ राशिमा विचरण गर्ने गर्दछन् । दुई वा साढे दुई दिनमा राशिपरिवर्तन गर्ने चन्द्रमाबाहेक यस महिनाको प्रारम्भमा आफ्नै घरमा मेष राशिमा रहेको मङ्गल ग्रह १२ गते बृष राशिमा पुग्ने, सुरुमा मकर राशिमा रहेको बुध ग्रहले २६ गते कुम्भ राशिमा प्रवेश गर्ने तथा सुरुमा मकर राशिमा उपस्थित शुक्र ग्रहले पनि ०७ गते राशि परिवर्तन गरी कुम्भ राशिमा प्रवेश गरी आआफ्नो राशि परिवर्तन गर्नेछन् । तर मकर राशिमा रहेको बृहस्पति र शनि, बृष राशिमा रहेको राहु एवं बृश्चिक राशिमा रहेको केतु ग्रहको भने महिनाभरिको अवस्थिति यथावत् रहने देखिन्छ ।
यस्तो ग्रह परिवेशलाई विश्लेषण गर्दा यो महिना जनता खुसी, सुखी र प्रसन्न रहने छन् । संक्रान्तिको समयमा शुक्रवार परेकाले पशुपंछी, धातुजन्य सामान, सुनचाँदी, गरगहना र अन्य भोगविलाससँग सम्बद्ध चिजबीजको मूल्यमा भारी बृद्धि हुनेछ । तर अधिकतम उपभोग्य पदार्थहरू अन्नादि लगायत तेल, घिउ र किराना वस्तुको मूल्यमा सामान्य नै रहने लक्षण छ । त्यस्तै फलफूल र तरकारीको मूल्यमा गिरावट आउनेछ । त्यस्तै फलाम र मेसिनरी सामानको मूल्यमा बृद्धि हुने लक्षण छ । राजनैतिक क्षेत्रका समस्याहरू जस्ताको तस्तै रहनाले राजनैतिक विसंगति र विकृतिमा बृद्धि हुनेछ, त्यसबाहेक समाजमा सानातिना आपराधिक गतिविधिमा बृद्धि हुने सङ्केत पनि छ, चोरीडकैती जस्ता उपद्रवका समाचार सुन्न पाइने छ । वाहन दुर्घटनाको संख्यामा बृद्धि हुनेछ । शेयर बजारमा उच्चता आउने महिना हो फाल्गुन महिना । अन्तर्राष्ट्रिय परिवेशलाई विचार गर्दा पूर्वी क्षेत्रमा उत्सव र आनन्दको वातावरण हुनेछ, दक्षिणी गोलार्द्धका देशहरूमा रोगव्याधि र कष्ट, पश्चिमी राष्ट्रहरूमा राजनैतिक विद्रोह र अस्थिरता, उत्तरी क्षेत्र र युरोपेली देशहरूमा आर्थिक संकट र अराजकता ल्याउनसक्ने ग्रहजन्य परिस्थिति देखिन्छ । जाडो याम समाप्त हुन लागे पनि मूलरूपमा जाडोको अनुभूति भइरहने महिना छ । यस अवधिमा कतैकतै वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि देखिन्छ । खासगरी ०२, ०३, ०४, ०७, १०, ११, २३ र २४ गते वर्षाबादलको योग रहेको समय हो ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
एघारौं भावमा बसेको सूर्यको प्रभावले इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ । सरकारको उच्च ओहदाका मानिसहरूसँग तपाईंको सुसम्बन्ध कायम हुनेछ, परिणामतः तपाईंले फाइदा लिन सक्नुहुन्छ । कार्यालयमा सिनियर कर्मचारीले सहयोग र समर्थन गर्ने समय हो । तपाईं स्वयंले वा जीवनसाथीले नयाँ रोजगारी पाउने वा नयाँ व्यवसाय प्रारम्भ गर्ने परिस्थितिसमेत बन्नसक्छ । हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्ने हुँदा मन प्रसन्न रहने छ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईंको इज्जत र प्रतिष्ठामा अझ बृद्धि हुनेछ । परीक्षा, प्रतियोगिता र अन्तर्वार्ताको तैयारी गरिरहेका जातकका लागि यो महत्त्वपूर्ण समय हो । यो महिना तपाईंको राशिस्वामी मंगल ग्रहले लग्न र धनभावमा भ्रमण गर्नेछ ।
यसको प्रभावले यस अवधिमा सबैसँग मेलमिलाप गर्नुका साथै मिलनसार स्वभावको विकास हुनेछ । तर मंगल ग्रह रिस, घमण्ड र अहंकारको स्वामी ग्रहसमेत हो, त्यसैले आफ्नै कमजोरी र त्रुटिका कारण यो इच्छाविपरीत परिणाम आउनसक्ने समय पनि हो । यस समयमा सानातिना रोगव्याधिको भय र हलुका दुर्घटना हुने सम्भावना पनि देखिन्छ । खासगरी महिनाको अन्तिम महिना जोखिमपूर्ण र जुवाजन्य काममा दिलचस्पी नदिनु होला, नत्र ठूलै धनरकमको नाश हुनसक्छ । उता आपसी सम्बन्धमा पनि समन्वयको प्रयास गर्ने समय हो, नत्र पारिवारिक झमेला बढ्नाले मानसिक तनाव हुन सक्छ । यो महिना श्रमिक तथा कर्मचारीका लागि दशमेश शनिश्चरले दशम भावमा नै यात्रा गरेको हुँदा स्वामी दाहिने भएको राम्रो समय छ, अब नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ, प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । सप्तमेश शुक्रले समेत दशम र एकादश भावको यात्रा गर्ने हुँदा गृहिणीहरुका लागि कार्यक्षेत्रमा उन्नति गर्ने अवसर जुट्नेछ । परिवारले आफ्ना समस्या बुझ्ने छन् । दाम्पत्य सम्बन्ध सुमधुर छ । अभिभावकलाई पनि खुसी बनाउने समय हो ।
विद्यार्थीहरुका लागि कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका छात्रछात्राका लागि अनुकूल समय छ भने मेडिकल र इञ्जिनियरिङ क्षेत्रमा कामको बोझ बढ्ने समय छ । व्यवसायीहरुका निमित्त कर, ट्याक्स वा कुनै प्रशासनिक काम अड्किएको छ भने यो महिना प्रयास गर्दा लाभ पाउने समय देखिन्छ । यो महिना ग्रहजन्य कुनै अशुभ प्रभाव नपरोस् भन्ने उद्देश्यले तपाईंले अष्टम भावमा बसेको केतुको शान्तिका निमित्त मगन्ते, भिखारी वा जोगीलाई दुई वटा रङ मिसिएको कम्बल वा दोलाई दान गर्नुपर्दछ । सामान्यतया यस महिनाको ०२, ०३, ०४, १२, १३, १४, २१, २२ र २९ गते तपाईंका लागि अशुभ रहने छन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कर्मक्षेत्रमा प्रवेश गरेको सूर्यको प्रभावले यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने तथा कर्मक्षेत्रको परीक्षण गर्ने समय हो । महिनाको दोस्रो सातापछि राशिस्वामी शुक्रले पनि कर्मस्थानको यात्रा गर्ने समय भएकाले यो महिना व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । विपरीत परिस्थितिलाई कुशलतापूर्वक निराकरण गर्नुहुनेछ । व्यापारिक साझेदार, सहयोगी वा व्यवसायिक व्यक्तित्व र ग्राहकहरूसँगको सम्बन्ध दिन प्रतिदिन सुध्रने सङ्केत छ । मनमा दैनिकी, दिनचर्या र सधैंको व्यस्तताबाट टाढा भाग्ने र एकान्तमा शान्त वातावरणमा रमाउने भावनाको विकास हुनसक्छ । कुनै नयाँ मित्र वा मार्गदर्शकसँग चिनजान र भेटघाट हुने समय हो । विदेश यात्राको इच्छा हुनसक्छ । पदोन्नति हुने सम्भावना छ भने चाहेको परिणाम हात पार्न सक्नु हुनेछ । मस्तिष्क धार्मिक क्रियाकलाप र जीवनसम्बद्ध उच्च दर्शनतर्फ आकृष्ट हुनेछ । पारिवारिक सम्बन्ध अनुकूल रहने छ । तर तपाईंको राशिमा राहु ग्रह र सप्तम भावमा केतुको उपस्थिति भएकाले अहिले भ्रम, चिन्ता र दुविधा बढ्ने समय छ ।
राहुको प्रभावले कुनै महत्त्वपूर्ण चिजबिज हराउने वा नाश हुने खतरा छ । वरिष्ठ व्यक्ति वा सत्तामा रहेका अधिकृतसँग सम्बन्ध बिग्रन सक्छ । लेनदेनको कारोबारमा हानि पुग्ने सङ्केत पनि छ । उता केतुका कारण दाम्पत्य किचलोको सम्भावना देखिन्छ । संयम र धैर्य बन्ने प्रयास गर्नुपर्छ । भाग्य भावमा राशिस्वामी लगायत कर्मेश शनिको समेत उपस्थिति भएकाले यो महिना श्रमिक तथा कर्मचारीका लागि प्रयास गरेमा फाइदा हुने फाँट वा कार्यालयमा सरुवा हुनसक्छ । यो महिना गरेको मिहिनेत र परिश्रमको भविष्यमा राम्रो प्रतिफल मिल्नेछ । सप्तमेश मंगलले बाह्रौं भावमा यात्रा गर्ने भएकाले खासगरी १२ गतेसम्म गृहिणीहरुका लागि अनुकूल देखिंदैन, त्यसैले जुनसुकै काम सम्हाल्दा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ ।
आर्थिक पाटो हो भने सानातिना खर्चको पनि हेक्का राख्नु होला, नत्र हिसाब नमिल्नाले तनाव बढ्ने समय छ । विद्यार्थीहरुका लागि आफूलाई विश्वास गर्ने समय हो, कुनै प्रतिष्ठान वा सरकारी निकायको परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । व्यवसायीहरुका निमित्त परिस्थितिवश कम फाइदा हुने काममा अलमलिनु पर्ने हुनसक्छ । श्रम अलि बढी गर्नु परे पनि बेफाइदा नै भने हुनेछैन, धैर्य र संयम हुनु राम्रो हुनेछ । यो महिना कुनै किसिमको अशुभता नहोस् भन्ने उद्देश्यले तपाईंले बाह्रौं भावमा बसेको मंगलको प्रियताका निमित्त कुनै देवालय वा तीर्थस्थलमा पुगेको वेला बाँदरलाई चना र गुड खुवाउनु पर्दछ । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १४, १५, १६, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यो सूर्यदेवले भाग्यभावको यात्रा गरेको समय हो । अतः पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने महिना हो, यो । सन्तानले उन्नतिरप्रगति गर्नेछन् । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । यो सामाजिक गतिविधि, परोपकारी काम र दानधर्मको समय पनि हो । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्द्धामा सफल भइने छ । यस समयमा धर्म, अध्यात्म र दर्शनका विषयहरूमा पनि रूचि बढ्ने र अध्ययन गर्नुहुने लक्षण देखिन्छ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ ।
विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रै समय छ हिजोआज तपाईंको राशिस्वामी बुध ग्रह अष्टम भावमा अस्त र बक्र अवस्थामा रहेको हुँदा केही अशुभ फल पनि प्राप्त हुनसक्छ, जस्तै सानातिना रोगव्याधि विशेष गरी श्वासप्रश्वास र पाचनप्रणालीमा असर पर्ने सम्भावना पनि देखिंदैछ । प्रयास गर्दागर्दै असफलता पाउनाले निराश हुनु पर्नेछ । कार्यक्षेत्रमा बोझ बढ्ने सम्भावना भएकाले धेरै मिहिनेत गर्नुपर्छ । ससाना कुराका कारण विवाद बढ्ने सम्भावना छ । महत्त्वहीन र बेकारका काममा आफ्नो शक्ति र समयको खर्च हुनेछ । छिटो धन कमाउने प्रवृत्तिमा अङ्कुश लगाउनु बेस हुनेछ । हिजोआज अष्टम भावमा दशमेश बृहस्पतिको उपस्थिति रहेकाले श्रमिक तथा कर्मचारीका लागि कुनै गुप्त योजना, रहस्यात्मक विषय वा भित्री विचार सल्बलाउने समय छ । कुनै पनि जोखिममूलक काम गर्दा जान्नेबुझ्नेको राय लिएको जाति हुन्छ, नत्र धन र प्रतिष्ठा गुम्ने खतरा देखिन्छ ।
सप्तमेशसमेत बृहस्पति ग्रह नै भएकाले गृहिणीहरुका लागि ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने, दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो । छोराछोरीका माध्यमबाट वैदेशिक यात्राको योग बनेको छ । पञ्चमेश शुक्रले महिनाको प्रारम्भमा अष्टम भावमा नै उपस्थिति जनाएकाले विद्यार्थीहरुका लागि अल्छी गर्ने होइन, कडा परिश्रम गर्नुपर्ने समय छ, महिनाको उत्तरार्द्धमा परिश्रम गरेअनुरूप भाग्यले पनि तपाईंलाई साथ दिनेछ । व्यवसायीहरुका निमित्त भाग्यले साथ दिने समय रहेको छ, यो साताको सानोतिनो लगानीले नै भविष्यमा राम्ररी झाँगिने र मौलाउने अवसर पाउने छ । अधिकतम समय अष्टम भावमा राशिस्वामी बुधको उपस्थिति भएकाले तपाईंले ग्रहजन्य दुष्प्रभाव हटाउन यस महिनाको हरेक बुधवारका दिन हरियो फलफूूल वा तरकारी अनाथालय, बृद्धाश्रम वा मठमन्दिरमा दान गर्नुपर्छ । सामान्यतया तपाईंका लागि यस महिनाको ०७, ०८, ०९, १६, १७, १८, २५, २६ र २७ गते ऊर्जाशील नहुने सङ्केत छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राम्रो महिना छैन, आठौं भावमा सूर्यको प्रवेश भएको छ । अचानक विविध समस्या देखा पर्न सक्छन् । पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । लामो समयसम्म अस्वस्थ रहने आशङ्का हुनेछ, त्यसैले खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु आवश्यक हुन्छ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, त्यस्तै खराब र अनैतिक मानिने कामभन्दा टाढा रहनु नै कल्याणकारी हुनेछ । महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । बुद्धि र विवेकले काम नगर्न सक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । मित्र र सहयोगीहरूबाट निराशा हुनेछ । यात्राबाट थकित बन्नुहुनेछ ।
प्रायशः फाल्गुन महिनाको अन्त्यसम्म नै सप्तम भावमा बुध, बृहस्पति र सप्तमेश शनिश्चरको उपस्थिति रहने भएकाले यो आपसी सम्बन्ध सुधार्ने तथा व्यापारिक साझेदारका बीचमा रहेको द्वन्द्व, टक्कर वा विवादलाई निवारण गर्ने समय हो । त्यस्तै यो विपरीतलिंगीहरूका माझमा लोकप्रिय हुने समयावधि पनि हो । व्यवसायीहरूले साझेदारीका माध्यमबाट राम्रो मुनाफा कमाउन सक्छन् । भोगविलास र आनन्दप्राप्तिका लागि मनको आकर्षण रहने छ । नितान्त व्यक्तिगत अझ आन्तरिक चाहनाको परिपूर्तिका निमित्त ध्यानकेन्द्रित हुने समय छ । आत्मीय मित्रको साथ खोज्नु, एकान्तमा बस्ने इच्छा राख्नु र भावना तथा कल्पनामा रमाउन खोज्नु अहिलेको विशेषता हो । दशमेश मंगलले दशौं र एघारौं भावको यात्रा गर्ने महिना हो, फाल्गुन महिना, त्यसैले यस अवधिमा श्रमिक तथा कर्मचारीका लागि बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुने समय हो । सप्तमेश शनिश्चरले सातौं भावमा नै अड्डा जमाएको हुँदा हिजोआज गृहिणीहरुका लागि आनन्दप्रद यात्राको योजना बनाउने समय हो । तपाईंको सोच र चिन्तनमा पति र छोराछोरीको पूर्ण सहयोग र समर्थन हुनेछ ।
पञ्चमेश मंगलले दशम भावको बलियो यात्रा गरिरहेकाले विद्यार्थीहरुका लागि रोजगारी र क्यारियरप्रतिको चासो बढ्ने समय छ । त्यस्तै व्यवसायीहरुका निमित्त होटल, रेष्टोरेन्ट, सेवामूलक काम र दौडधूप गर्ने पेसाबाट यो महिना अलि बढी नै फाइदा हुनेछ । ग्रहको कुनै पनि अशुभ प्रभाव नपरोस् र सुखशान्तिका साथमा महिना बितोस् भन्ने उद्देश्यले तपाईंले अष्टम भावमा रहेको सूर्य ग्रहको उपासनामा जोड दिनुपर्दछ, त्यसका लागि सकेसम्म हरेक दिन सूर्योदयको १ घटिका ९२४ मिनेट० भित्र स्नानादिबाट निवृत्त भई मह वा चिनी मिसाएर तामाको पात्रमा शुद्धजल वा गङ्गाजल राखी सूर्यलाई अर्घ्य दिंदा लाभ हुन्छ । खासगरी यस महिनाको ०१, ०२, ०९, १०, ११, १८, १९, २०, २७, २८ र २९ गते तपाईंले अलि बढी चनाखो हुनु राम्रो हुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सातौं घर साझेदारी र दाम्पत्यजीवनसँग सम्बन्धित घर हो, यो महिना यसै भावमा सूर्यले भ्रमण गर्ने समय हो । बोलीमा विशेष प्रभाव हुने र व्यवहारमा कुशलता देखिने समय हो । जीवनसाथीले पनि आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय छ । प्रेम जीवन सामान्य हुनेछ । बन्दव्यापारमा संलग्नहरूका लागि राम्रो कारोबार हुने समय हो । कार्यक्षेत्रमा वर्चस्व कायम हुनेछ । भाग्य भावमा रहेको भाग्येश मंगलको प्रभावले पारिवारिक सुख मिल्नेछ । घरायसी सुखसुविधा बढाउन र चलअचल सम्पत्ति आदिमा खर्च बढ्ने छ, साथै बन्दव्यापारको विकासमा पनि धनव्यय हुनेछ ।
अचानक अयाचित लाभ मिल्ने सम्भावना पनि देखिंदैछ, साथै उच्चपदस्थ र शक्तिशाली व्यक्तिहरूको सम्पर्कमा पुगिने सम्भावना पनि छ । ख्याति र सम्मानमा अभिबृद्धि हुनेछ । तर सातौं सूर्य र छैटौं बृहस्पतिको प्रभावले समग्र प्रभाव राम्रो रहने छैन, किनकि यो मानसिक रूपले तनावग्रस्त र अस्वस्थ रहने समय हो । कुनै त्यस्ता काम हुन्छन्, जुन कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । व्यवसायिकरव्यापारिक क्षेत्रमा रहेका नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् । व्यर्थका काममा समेत अल्मलिनु पर्नेछ । बोलीलाई नियन्त्रण गर्नु राम्रो हुन्छ, घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ ।
हृदय र छातीका रोगीहरूले अलि सतर्क रहने महिना हो । दशमेश शुक्रले यो महिना छैंटौं र सातौं भावको यात्रा गर्नेछन् । त्यसैले कामदार र कर्मचारीका लागि समय अनुकूल छैन, यो मनमा चिन्ता, शंका र प्रतिद्वन्द्विता बढ्ने समय हो । सप्तमेश शनिले समेत छैटौं भावकै यात्रा गरेको देखिन्छ, त्यसैले गृहिणीहरुका लागि कुनै कामविशेषले यात्रा हुनसक्छ । पेटसम्बन्धी समस्या देखापर्न सक्छन् । विद्यार्थीहरुका लागि कुनै विवाद, प्रतियोगिता वा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने यो महिना चुनौती झेलेर अघि बढ्ने समय हो । व्यवसायीहरुका निमित्त आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने समय हो, तर आकस्मिक खर्चमा बृद्धि हुनेछ । सामान्यतया तपाईंका लागि यो महिना शुभकारक नै हुनेछ, यद्यपि अझ बढी शुभ होस् भन्ने मनसायले तपाईंले चौथो भावमा बसेको केतुको शान्तिका निमित्त प्रत्येक मङ्गलबार वा बिहीबारका दिन कालो बोकोलाई हरियो र पोसिलो घाँस खुवाउनु पर्दछ । खासगरी यस महिनाको ०२, ०३, ०४, १२, १३, १४, २१, २२ र २९ गते तपाईंका लागि अशुभ रहने छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
यो समय उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । उता पाँचौं भावमा राशिस्वामी बुध, पञ्चमेश शनिश्चर र बृहस्पति ग्रहसमेतको उपस्थिति रहेकाले पनि यो सुख र सम्मृद्धिकारक समय नै हो । यस अवधिमा मनमा प्रेमिल भावना र विनोदी स्वभाव विकसित हुने समय चल्दैछ । विद्यार्थीहरूले योग्यता र सीपको भरपूर प्रयोग गर्ने समय हो । गृहस्थीहरूले सन्तानका क्रियाकलाप र उन्नतिप्रगति देखेर दंग पर्ने समय हो । गीत, संगीत, चलचित्र वा भुलिने खेल वा गेमप्रति झुकाव बढ्ने समय पनि हो । व्यक्तित्व आकर्षक हुनाका साथै स्वभावमा मिलनसार बन्नुहुनेछ । तर राशिस्वामी बुधको अस्तावस्था र बक्र गति रहेकाले फलप्राप्तिप्रति बढी विश्वास नगर्नु जायज हुन्छ, त्यस्तै छैटौं भावमा रहेको क्रूर ग्रहले सामान्यतया शुभ परिणाम नै दिने समय भए पनि छैटौं भाव झगडा र रोगको घर भएकाले व्यक्तिगत स्वास्थ्य र आहारविहारमा सचेतता अपनाउनु जायज हुनेछ । रिस र आवेगमाथि भने कन्ट्रोल गर्नु आवश्यक छ ।
जीवनसाथीको स्वास्थ्यस्थितिप्रति समेत सचेत हुनु आवश्यक छ । त्यस्तै सूर्यले बाह्रौं भावमा पूर्णदृष्टि राख्ने हुँदा यो खर्च बढ्ने समय पनि हो । तर समग्रतामा कर्मप्रति समर्पित भई गरेको काममा शतप्रतिशत सफलता पाउने समय हो । दशमेश र लग्नेश दुबै बुध ग्रह भएकाले कन्या राशिका जातकका लागि यो महिना व्यक्तित्व विकास र प्रतिष्ठाबृद्धिमा केन्द्रित हुने समय हो, त्यसैले कामदार तथा कर्मचारीले यो महिना सुखसुविधाका निमित्त होइन, साख बढाउन प्रयास गर्नुहोला । सप्तमेश बृहस्पतिले पञ्चम भावको यात्रा गर्दैछ, त्यसैले गृहिणीहरुका लागि पारिवारिक वातावरण सुखमय रहनेछ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । छोराछोरीको खुसीका निमित्त केही काम गर्नुपर्ने र धन खर्च हुने समय हो ।
विद्यार्थीहरुका लागि अध्ययनका विषयवस्तुप्रति गम्भीर बन्ने समय आएको छ । अब लक्ष्य प्राप्तिका लागि उन्मुख हुने वेला हो । व्यवसायीहरुका निमित्त आर्थिक व्यवस्थापनका लागि गर्नैपर्ने केही कामहरू अन्तिम निष्कर्षमा नपुगी बीचमा नै अवरुद्ध हुनसक्ने समय देखिन्छ । राशिस्वामी बुधमा बक्रता र अस्तावस्था रहेकाले यो महिना कुनै पनि ग्रहजन्य दुष्प्रभाव निवारणका लागि तपाईंले एउटा पन्ना रत्न ९कम्तीमा ६ क्यारेटको० सुन, चाँदी वा पञ्चधातुमा औंठी बनाएर दाहिने हातको काहिंली औंलामा धारण गर्दा लाभ हुनेछ । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १४, १५, १६, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बुद्धि क्षेत्रमा सूर्यको उपस्थिति भएकाले मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्नसक्छ । आकस्मिक यात्राको अवसर आउन सक्छ । राशिस्वामी शुक्रले समेत ७ गतेपछि पाचौं भावको यात्रा गर्ने भएकाले यस अवधिमा विपरीत लिङ्गीप्रति आकर्षित भइने छ । आत्मविश्वासको मात्रा बढ्ने छ । निडर र जुझारु बन्नुहुनेछ । मिहिनेत र कर्मठताले गर्दा कामधन्धामा प्रगति र विकास हुनेछ । आकस्मिक रूपमा हितकारी घटना घट्न सक्छ ।
पञ्चमेश शनि चतुर्थ भावमा तथा राहु अष्टम भावमा रहेकाले मानसिक उलझन बल्झाउने र चिन्ता बृद्धि गर्ने समय हो । यस अवधिमा मातापिताको स्वास्थ्यस्थिति कमजोर हुन्छ, खासगरी पिता वा कार्यक्षेत्रका सिनियर्ससित मनमुटाव र तिक्तता बढाउने समय पनि हो । हृदय र पेटसम्बन्धी स्वास्थ्यसमस्या आइलाग्ने समय छ । त्यस्तै यसै महिनामा सप्तमेश मंगलको सप्तम र अष्टम भावमा यात्रा हुनेछ । परिणामतः १२ गतेसम्म रमाइलो समय नै हुनेछ, तर त्यसपछि घरपरिवारकै सदस्यका बीचमा मनोमालिन्य बढ्नाले एवं ससाना कुरामा झैझगडा मानसिक तनाव बढ्नसक्छ । प्रत्येक काममा बाधा आउने र ढिलो हुनेछ । कहिलेकाँही असुरक्षाको हीनभावनासमेत विकसित हुनसक्छ । कामको बोझ बढ्ने छ । व्यर्थको काममा फँस्ने सम्भावना समेत छ ।
स्वास्थ्य पनि ठीक हुनेछैन । पारिवारिक जीवन सुखद रहनेछैन । दशम भावको मालिक चन्द्रमाले महिनाको पहिलो दिन पाँचौं भावमा उपस्थिति जनाएकाले यो महिना श्रमिक तथा कर्मचारीहरूले अध्ययनशील बन्ने समय हो । नयाँ सीप वा तालिम लिने अनुकूलता मिल्नसक्छ । सप्तमेश मंगलको सातौं र आठौं भावको यात्रा रहने छ, त्यसैले गृहिणीहरुका १२ गतेपछि नकारात्मक समय सुरु हुनेछ । खासगरी रोगव्याधिको चपेटामा हुनुहुन्छ भने औषधोपचार र आहाररविहारमा ध्यानकेन्द्रित गर्नु ठीक हुन्छ । यो विद्यार्थीहरूका निमित्त मिश्रित प्रभाव भएको समय हो, त्यसैले के कति मिहिनेत गर्नुहुन्छ, त्यस अनुरूप परिणाम प्राप्त हुनेछ । व्यवसायीहरुका निमित्त कारोबारमा भन्दा पनि ध्यान, अध्यात्म र योगातर्फ अनि सामाजिक र परोपकारी काममा मनको आकर्षण हुनाले मन चंगा हुने समय छ । ग्रहजन्य दुष्प्रभाव कम गर्न तपाईंले अष्टम भावमा बसेको राहुको प्रियताका लागि श्रीखण्ड चन्दनको एउटा सानो टुक्रा आफ्नो पर्स वा सधैं बोक्ने झोलामा हरहमेशा राख्नुपर्दछ । सामान्यतया यस महिनाको ०७, ०८, ०९, १६, १७, १८, २५, २६ र २७ गते तपाईंका लागि अशुभ रहने छन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु्)
तपाईंको राशिबाट चौथो घर अर्थात् मातृसुख, वाहनसुख प्रदान गर्ने भावमा सूर्यको गोचर प्रारम्भ भएको छ । आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । सहकर्मीहरूको समर्थन प्राप्त हुनेछ । नयाँ घरघडेरीको जोहो गर्ने मानसिकता भएका व्यक्तिका लागि यो महिना उक्त कामका लागि उचित समय हुनसक्छ । सूर्यले प्रदान गर्ने सकारात्मक फल यी भए पनि चतुर्थ भावमा बसेको क्रूर ग्रहको मानसिक उलझन बल्झाउने परिणाम प्राप्त हुने गर्दछ । मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । दुर्घटनाको सामान्य सम्भावना छ, त्यसैले सवारीसाधन हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु बेस हुनेछ ।
छैटौं र सातौं भावमा भ्रमण गर्ने राशिस्वामी मङ्गलको प्रभाव मिश्रित रहने सङ्केत छ । सुरुका दुई हप्ताभित्र लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुनेछ । कार्यशैलीमा गम्भीरता आउने छ । सुखसुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहने छ । कामप्रतिको लगनशीलताका कारण प्रशस्त लाभ मिल्नेछ । पारिवारिक वातावरण सुमधुर रहनेछ । तर त्यसपछि कतिपय परिस्थितिमा इच्छाविपरीत परिणाम आउनसक्छ, त्यसैले फलप्राप्ति प्रति धेरै उत्साह नदेखाउनु उचित हुनेछ । सानातिना रोगव्याधिको भय र हलुका दुर्घटना हुने सम्भावना छ ।
पारिवारिक झमेला बढ्नसक्छ । दशम भावको मालिक सूर्यले चतुर्थ भावको यात्रा गरेको समय भएकाले कामदार र कर्मचारीका लागि यो महिना वैदेशिक प्रयोजनका काममा खट्नु पर्ने वा कतै लाभदायक यात्रामा निस्कनुपर्ने समय छ । सप्तमेश शुक्रले तृतीय र चतुर्थ भावको यात्रा गर्ने हुँदा गृहिणीहरुका लागि यो महिना व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । तर पनि महिनाको अन्त्यतिर यदाकदा मनमा अनावश्यक तनाव पैदा हुनेछ ।
विद्यार्थीहरुका लागि मित्र र शुभचिन्तकको साथरसहयोग प्राप्त हुनेछ, नजानेको कुरा गुरुवर्ग वा दिदीदाजुका माध्यमबाट जान्न सकिने समय हो । व्यवसायीहरुका निमित्त यो महिना भौतिक सम्पति तथा परिवारको खरखाँचोका वस्तुहरूको जोहो गर्ने समय हो । आफ्नै राशिमा रहेको केतु ग्रहको प्रसन्नताका लागि तपाईंले यो महिना देवीदेउराली वा कुनै शक्तिपीठमा गई पुजारी वा माग्नेलाई कालो रङको तैयारी लुगा दान गरेमा शुभफल प्राप्त हुनेछ । सामान्यतया यस महिनाको ०१, ०२, ०९, १०, ११, १८, १९, २०, २७, २८ र २९ गते त्यति अनुकूल दिन रहने छैन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सूर्यको प्रभाव तृतीय भावमा रहने भएकाले यो महिना पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आयक्षेत्रमा उल्लेखनीय अभिबृद्धि हुनेछ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । परिवारका सदस्य र अन्य व्यक्तिको हितका लागि धनखर्च गर्न मन हौसिने छ । लोकप्रियता हासिल हुनेछ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ मिल्नेछ । कला, कविता र साहित्यमा रूचि बढ्ने छ । आफ्नो रूचिको क्षेत्रमा गरेको प्रयास सार्थक हुनेछ । सामान्यतया सबै किसिमका सुखभोग प्राप्त हुनेछ ।
अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् ।। स्वास्थ्यका दृष्टिकोणले पनि यो समय राम्रै छ । उता राशिस्वामी बृहस्पतिले धनभावको यात्रा गर्दै राजयोग सिर्जना गरेको समय छ । यो समय मिठो खाने, राम्रो लगाउने र महँगा महँगा वस्तुको खरीद गर्ने इच्छाको जागृति हुने समय हो । कहिलेकाहीं सांसारिक सुखसुविधा भोग गर्न र मौजमस्तीमा धनखर्च गर्ने परिस्थिति पनि बन्नसक्छ । प्रेम सम्बन्धमा सानातिना विवाद र झैझगडाको योग हुन्छ, तर तपाईंको बोलीमा मिठास र चिप्लोपन देखिन सक्छ ।
घरपरिवार, इष्टमित्र र खासगरी दिदीबहिनीसँग भेटघाट हुने तथा भावना साटासाट हुने समय हो । दशमेश बुधले महिनाको अधिकतम समय धनभावको यात्रा गर्ने संकेत छ, त्यसैले श्रमिक तथा कर्मचारीका लागि यो महिना धनधान्य बढाउने चिन्ता बारम्बार भइरहन्छ र केही हदमा सफलतासमेत पाइने छ । गृहिणीहरुका लागि यो समयावधि बडो आनन्द र उमङ्गका साथमा बित्नेछ । पतिको पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्ने छन् । विद्यार्थीहरुका लागि पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो ।
ठूलाबडा र गुरुजनको सहायता प्राप्त हुनेछ । व्यवसायीहरुका निमित्त अप्रत्यासित ढंगले आफन्त र सहयोगीहरूको साथ पाउनाले कुनै बिग्रनै लागेको काम सपारेर अघि बढ्ने समय आएको छ । तपाईंले पनि केतु ग्रहको शुभफल प्राप्तिका लागि प्रयास गरेमा राम्रो हुनेछ, त्यसका लागि मङ्गलबार वा बिहीबारका दिन गच्छेअनुसार कुनै गुलियो पक्वान्न कुनै बृद्ध जोगीलाई वा माता दुर्गाको शक्तिपीठमा दान दिनुपर्छ । सामान्यतया यस महिनाको ०२, ०३, ०४, १२, १३, १४, २१, २२ र २९ गते तपाईंका लागि अशुभ रहने छन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तपाईंको राशिबाट सूर्यदेवले दोस्रो भावमा रहेको धनस्थानमा प्रवेश गर्दैछन् । अब कार्यक्षेत्रमा सफलता आर्जन गर्न सकिने र सम्मान बढ्ने समय आएको छ, सामाजिक सर्कलमा नामरसुनाम चल्ने र साख बढ्ने संकेत छ । यो धनवृद्धि गर्न कडा मिहिनेत गर्ने समय हो । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले यस अवधिमा लाभ मिल्नेछैन, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । सरकारी काम वा उच्च अधिकारीहरूसँगको हिमचिम र भेटघाटले केही मुनाफा कमाउने अवसर प्राप्त हुनेछ ।
शिक्षार्थीहरूले राम्रो नतिजा प्राप्त गर्नेछन् । मौखिक अभिव्यक्तिसँग सम्बद्ध जुनसुकै काममा उच्च सफलता प्राप्त हुनेछ । यो प्रेम जीवन र दाम्पत्य सम्बन्धमा नोकझोक चलिरहन्छ, तर प्रेमसम्बन्ध प्रगाढ बन्दै जानेछ । बन्दव्यापार र पेसागत जीवनमा पनि शुभफल र सन्तोषजनक परिणाम प्राप्त हुनेछ । तर सूर्यले धनस्थानको यात्रा गर्दा केही नकारात्मक फलहरू पनि प्राप्त हुने गर्दछन्, जस्तै यस अवधिमा तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ । घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । तपाईंको आफ्नै राशिमा प्रायः यो महिनाभरि राशिस्वामी शनिश्चर र भाग्येश बुधको एकसाथ यात्रा हुनेछ, परिणामतः अहिले तपाईंले दीर्घकालीन लगानीका लागि धन लगानी गर्नु उत्तम हुन्छ । भ्रमणबाट लाभ हुनेछ । दार्शनिकता प्रति झुकाव बढ्ने छ र स्वभावमा गम्भीरता प्राप्त हुनेछ ।
दशमेश शुत्रले तपाईंको आफ्नै राशि र दोस्रो भावको यात्रा गर्ने समय हो । त्यसैले कामदार र कर्मचारीहरूका लागि यो महिना पदोन्नति हुने सम्भावना छ । त्यसैले मिहिनेत गरेअनुसार चाहेको परिणाम हात पार्ने समय हो । महिनाको पहिलो दिन सप्तमेश चन्द्रमाले धनभावको यात्रा गरेको देखिन्छ, अतः गृहिणीहरुका लागि यो महिना विशेष ताजगी र स्फूर्ति बढ्ने समय हो । विद्यार्थीहरुका लागि आलस्य नगरी केही नयाँ सिक्ने प्रयास गर्नु राम्रो हुन्छ । यसरी नै तपाईंको बौद्धिक क्षमतामा सुधार हुनेछ, अनि केही गर्छु भन्ने आत्मविश्वास जाग्नेछ । व्यवसायीहरुका निमित्त लगानीमा रहेको वा उधारोमा गएको धन प्राप्त हुने समय छ । कतैबाट आयमा आकस्मिक बढोत्तरीसमेत हुनसक्छ । कुनै किसिमको असुविधा नहोस् भन्ने उद्देश्यले तपाईंले हरहमेशा राशिस्वामी शनिदेवको उपासनामा जोड दिएको जाति हुन्छ । यस महिनाको ०४, ०५, ०६, १४, १५, १६, २३ र २४ गते तपाईंका लागि अनुकूल हुने छैन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नै राशिमा भगवान् सूर्य नारायणले प्रवेश गर्नुभएको छ । यो समय सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । आत्मविश्वासको सिर्जना हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । यस महिनाको अन्त्यतिर तपाईंको आफ्नै राशिमा बुधादित्य योगको समेत सिर्जना हुनेछ, त्यसैले मासान्तमा अत्यन्त सुखभोग गर्न पाइने छ । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने समय छ । प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । महत्त्वपूर्ण व्यक्तित्व र विद्वानहरू सम्पर्कमा रहनेछन् ।
सम्मान प्राप्त हुने र ख्याति बढ्ने समय छ । पारिवारिक जीवन संतोषप्रद रहनेछ । यो महिनाको ७ गते भाग्यभावको मालिक शुक्र ग्रहले पनि तपाईंको आफ्नै राशिमा प्रवेश गर्नेछन्, परिणामतः यो महिना तपाईंले कडा मिहिनेत र परिश्रम गरी भाग्यको ढोका उघार्ने समय हो । शुक्रको प्रभावले प्रतिस्पर्धा वा परीक्षामा सहभागी हुँदा सफलता आर्जन हुनेछ । तर राशिस्वामी शनिश्चरको बाह्रौं भावको यात्राको अवधि हो । यो तपाईंका लागि आद्य साढेसातीको प्रकोपको समय पनि हो । यसको प्रभावले कामको बोझ धेरै नै हुन्छ, आर्थिक असन्तुलनका कारण तनावमा बृद्धि हुनेछ । तर पनि समय र स्वास्थ्य अनुकूल हुनाले सफलता मिल्नेछ । यो महिना श्रमिक तथा कर्मचारीका लागि कुनै धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुनुपर्ने समय छ ।
यो साताको परोपकारी कामले भविष्यमा फाइदा हुनेछ । सातौं भावको मालिक सूर्य स्वयं तपाईंको राशिमा विराजमान हुनुहुन्छ, त्यसैले गृहिणीहरुका लागि मनमा प्रेम, रोमांस, संगीत आदि विषयको झुकाव बढ्ने समय हो । आफ्नो रूपविन्यास र साजसज्जामा ध्यान केन्द्रित हुनसक्छ । ७ गतेपछि पञ्चमेश शुक्रले पनि तपाईंकै राशिको भ्रमण गर्ने हुँदा विद्यार्थीहरुका लागि पनि यो महिना उत्तम रहने छ । परीक्षारप्रतियोगितामा विजय हुनेछ । व्यवसायीहरुका निमित्त कुनै नयाँ व्यापारमा आकर्षण छ भने व्यवसायमा लगानी बढाएर आम्दानीका स्रोतमा बृद्धि गर्न सक्नुहुन्छ । बाह्रौं भावमा उपस्थित राशिस्वामी शनिदेवको उपासना र मन्त्रजाप गरेमा सबै किसिमका दुष्प्रभावको नाश गर्न सक्नुहुनेछ । यसका लागि शिव स्तोत्र वा शनि स्तोत्रको पाठ गर्नु पर्छ साथै निलम रत्न वा शनि यन्त्र धारण गर्नु पर्छ । सामान्यतया यस महिनाको ०७, ०८, ०९, १६, १७, १८, २५, २६ र २७ गते तपाईंका लागि अशुभ रहने छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यो महिना तपाईंको राशिबाट बाह्रौं भावमा सूर्यले भ्रमण गर्ने समय हो । यस अवधिमा खासगरी घरबाहिर बस्ने वा विदेशमा बस्नेहरूले उन्नतिप्रगति गर्नसक्ने र आयमा बृद्धि गर्ने समय हो । स्वदेशमा नै रहेका जातकहरूले पनि विदेश जाने योजना बनाउँदै हुनुहुन्छ भने प्रयास गर्न अनुकूल समय हुनेछ । जागीरको सिलसिलामा घरबाहिर हुनुहुन्छ भने प्रयास गर्नुहोस् तपाईंको घरपायक सरुवा हुनसक्छ । यो वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सामान्य समय छ । छात्रछात्राले शैक्षिक उद्देश्यले वैदेशिक यात्राका निमित्त प्रयास गर्ने समय हो । छैटौं भावमा सूर्यको पूर्णदृष्टि हुने भएकाले यस अवधिमा मुद्दामामिला वा झैझगडाजस्ता क्षेत्रमा विजय प्राप्त गर्नुहुनेछ, यो शत्रुहरूमाथि प्रभुत्व जमाउने समय हो । याद गर्नुहोला, बाह्रौं भाव खर्चको घर हो ।
अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोला, नत्र कुनै ठूलै आर्थिक संकटको परिस्थिति सिर्जना हुनसक्छ । यो धनसम्पत्तिको थैलो कसेर राख्ने समय पनि हो, लापरवाही गर्दा गहनागुरिया वा रुपैयाँपैसा चोरी हुने खतरा छ । यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । त्यस्तै व्यक्तिगत स्वास्थ्यका बारेमा लापरवाही नगर्नु होला, टाउको दुख्ने वा ज्वरोजस्ता समस्याले दुःख दिनसक्छ । यो तपाईंको राशिस्वामी बृहस्पति ग्रहले लाभ भावमा भ्रमण गरेको समय हो । त्यसैले गोचरमा अशुभ प्रभाव देखिए पनि अत्तालिई हाल्ने परिस्थिति बन्नेछैन ।
तपाईंका लागि लग्नेश र दशमेश दुबै ग्रह बृहस्पति हो र अहिले बृहस्पतिले लाभ भावको यात्रा गरेको देखिन्छ । त्यसैले यो महिना श्रमिक तथा कर्मचारीका लागि व्यक्तित्व विकास वा शैक्षिक योग्यता बृद्धि गर्न प्रयास गर्ने समय हो । त्यस्तै गृहिणीहरुका लागि परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुने वा उक्त कार्यको योजना बनाउने समय हो । पञ्चमेश चन्द्रमाले महिनाको पहिलो दिन बाह्रौं भावमा यात्रा गरको हुँदा यो महिना विद्यार्थीहरुका लागि सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुने समय छ । वैदेशिक यात्राको योजना बनाउनु भएको छ भने प्रयास गर्नुस् सफलता हात पर्नेछ ।
व्यवसायीहरुका निमित्त यो महिना आकस्मिक रूपमा खर्च बढ्ने समय छ । कारोबारमा झट्ट अर्काको विश्वास गर्ने समय होइन, सहयोगीमाथि पनि पूर्ण भरोसा गर्ने समय छैन । बाह्रौं भावमा बसेका सूर्यदेवको उपासना र भक्तिमा जोड दिएमा यो महिना पनि अन्य महिना झैं शुभकारक बन्नसक्छ, त्यसका लागि केसरी वा रातो टीका लगाउँदा, सूर्य गायत्री, आदित्य हृदय स्तोत्रको पाठ गर्दा, सूर्य कवचको पाठ गर्दा र भगवान् विष्णुको नियमित पूजा आराधना गर्दा दुष्प्रभावहरू नष्ट हुन्छन् । खासगरी तपाईंका लागि यस महिनाको ०१, ०२, ०९, १०, ११, १८, १९, २०, २७, २८ र २९ गते अशुभ रहने भएकाले ती दिनमा धैर्य, अनुशासित र संयम हुनु वाञ्छनीय छ ।
हे’र्नुहोस् भिडियोमा