
नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । झाँक्रीमाथि लागेको अभियोगमा सोधपुछपछि कागज गराएर उनलाई बिहीबार साँझ छोडिएको छ । पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो । उनलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेकाे हो । राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार मध्यान्ह पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो ।
प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ । झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भएको थियो ।
झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिएकी छिन् । बिहीबार दिउँसो पक्राउ परेकी उनले साँझ श्रीमन पशुपति पुरीको जिम्मा जमानीमा रिहा भएपछि यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाउने पनि उद्घोष गरिन्न् ।
‘‘चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो । प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाइन्छ’, रिहा भएपछि उनले संक्षिप्त प्रतिक्रियाका क्रममा भनिन् ।
नेकपा दाहाल नेपाल समूह निकट युवा विद्यार्थीले अपराह्न माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म विरोध प्रदर्शन गरे । झाँक्रीलाई पक्राउ गर्नु नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै विभिन्न राजनीतिक दल र नेताहरूले सरकारको आलोचना गरेका हुन् ।