
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने निर्णय गरेर पनि एक सातासम्म मौन रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सत्ता गठबन्धनका लागि आज (शुक्रबार) तीन दलको बैठक बोलाएको छ ।
कांग्रेसले तीन दलीय गठबन्धन र नयाँ सरकार बनाउनका लागि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गर्न लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले आज (शुक्रबार) दिउँसो ३ बजेका लागि तीन दलको वैठक बोलाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएकाे छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देउवालाई नयाँ सरकार गठनको नेतृत्व गर्न आग्रह गर्दै आइरहेको अवस्थामा मौन बस्नुभएकाे उहाँले बिहीबारदेखि भने सक्रियता देखाउनु भएकाे छ । कांग्रेसले यसअघि नै आवश्यक परे नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । माओवादी अध्यक्ष दाहाल देउवासँग छलफलकै लागि बिहीबारै सुर्खेतबाट हतार–हतार काठमाडौं आएका छन् ।
माओवादीले ओलीलाई हटाउने वा नहटाउनेबारे प्रष्ट निर्णय दिन देउवा र महन्थ ठाकुरलाई आग्रह गरेको छ । देउवा भने ओलीको विपक्षमा संसदमा बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म अघि बढ्न चाहनुभएकाे छैन । वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा जसपाभित्र स्पष्ट रूपमा दुई धार देखिएको छ ।