
काठमाडौं/ नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा आएर बहस गर्न चुनौती दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्रीले संसदलाई छलेर बाहिर बाहिर भाषण गर्दै हिँडेको भन्दै आ’क्रोश पोखे ।
उनले भने,‘प्रधानमन्त्रीलाई म संसदमा निम्तो दिन चाहन्छु, चुनौ’ती दिन चाहन्छु ।’ उनले संसदबाहिर प्रधानमन्त्री अनेकौं भाषण गर्दै हिँडेको तर संसदमा आएर बहस गर्ने हिम्मत नराखेको बताए । उनले भने,‘संसदबाहिर हुक्के चिलिमे राखेर माथि बसेर गफ दिने अनि तल बसेर ताली पिट्ने ? संसदमा हामी बालकविता सुनाएर बस्ने होइन, संसदलाई छलेर भागेर होइन ।’
सांसद थापाले प्रधानमन्त्रीले गफ मात्रै गरेको भन्दै २ वर्ष पहिला बनेको सिन्धुलीको पुल अहिले उद्घाटन गरेको भन्दै आलोचना समेत गरे । उनले भने,‘ प्रधानमन्त्रीलाई अहिले बाटो पुलको शिलान्याश गर्न भ्याइनभ्याई छ ।
प्रधानमन्त्रीलाई चमत्कार गरेको भनेर चरम अल्पज्ञान, ढाँट्ने बानी लागेको छ । २०७४ साल चैतको २ गते खानेपानीमन्त्री आएपछि २०७५ साल असोजसम्म ठेकेदारसम्म मोलमोलाई मिलेन ।
९ महिना आयोजनाको कामको सिन्को पनि नभाचेर अहिले यत्रो फुर्ति ? २३ वर्ष आयोजनाका लागि समय लाग्दा माफी माग्नुपर्दैन? श्रेय लिने होडबाजी ? धारा खोलेर, बाल्टी, कहिले उठेर कहिले बसेर उद्घाटन गर्ने ? तमासा गर्ने ?’ सांसद थापाले केहीदिन भित्रमा प्रधानमन्त्रीले तामाकोशी जलविद्युत आयोजनामा समेत उद्घाटनको यस्तै तमासा देखाउने दाबी गरे । तर राष्ट्रिय गौरवका आयोजनाहरुमा सरकारको ध्यान जान नसकेको बताए ।
‘फाष्ट ट्रयाक, बबई सिंचाई आयोजनाका बारेमा कोही भन्दैन । नेतृत्वबाट गर्नुपर्ने काम गरेको छैन, मिथ्याङ्क ल्याएर गफ चुट्ने ? चालू भएको २ वर्षपछि सिन्धुलीको उद्घाटन ? के को तमा’सा हो ? एकसय ६५ वटा सडक अस्ति उद्घाटन भएको छ । तर त्यसका लागि अहिले बजेट भनेको ३ अर्ब पैसा छ । आवश्यक ५७ अर्ब ।
उद्घाटन नै गर्ने हो भने एउटा निर्वाचन क्षेत्रमा १० वटा सडकका दरले ठोक्दिउँ, १ हजार ६ सय ५० वटा बनाइदिँउ । अहिलेको सरकारले मात्रै गरेन भनेर भन्न खोजेको छैन । हाम्रो काम लगाउने निकायको क्षमतामा समस्या छ । यसलाई बनाउनका लागि संसदले दर्जनौ काम गर्नुपर्नेछ,’ प्रधानमन्त्रीले संसदमा आएर तथ्यमा बहस गर्न चुनौ’ती दिदै सांसद थापाले व्यङ्ग्य गर्दै भने,‘उद्घाटन बालुवाटारभित्र नयाँ बनेको भवन र बनेको कोठा उद्घाटन गर्नुहोला ।’