
विराटनगर/ स्लिम, फिट र राम्रो शरीर बनाउने चाहना सबैको हुन्छ ।
शरीरको अनावश्यक तौल घट्नाले उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेह र मुटुसम्बन्धी जोखिमलाई पनि कम गर्न सकिन्छ । जसकारण तौल घटाएर राम्रो देखिने इच्छा पूरा गर्नका लागि मानिस विशेषगरी मोटोपना वा अत्यधिक तौल भएका मानिस जे पनि गर्न तयार हुन्छन् । साथै, धेरैजसो समयमा तौल घटाउनका लागि डाक्टरलाई परामर्श नलिई डाइटिङ गर्न थाल्छौँ जुन स्वास्थ्यका लागि धेरै हानिकारक हुनसक्छ ।
एक मानिसको उमेर, तौल, काम, शारीरिक गतिविधि र चाहिने पोषक तत्वको आधारमा डाइट प्लान तयार गर्नुपर्ने हुन्छ । र, डाक्टरको सल्लाहविना गरिने डाइटिङका कारण छिटो तौल घटे पनि शरीरमा चाहिने पोषकतत्वको कमी हुन्छ । यसका साथै शरीरमा धेरै समस्या पनि आउन सुरु हुनसक्छ । अत्यधिक डाइटिङ गर्दा डिहाइड्रेसनको समस्या निम्तिन सक्छ ।
जसकारण टाउको दुख्ने, थकान तथा रिँगटा लाग्ने जस्ता समस्या देखापर्न सक्छ । अत्यधिक डाइटिङ गरेर घटाएको तौल छिट्टै बढ्ने हुन्छ । मधुमेहसम्बन्धी सन् २०१३ मा गरिएको एक अध्ययनअनुसार लामो समयसम्मको डाइटिङले टाइप २ मधुमेहको जोखिम निम्त्याउन सक्छ । अत्यधिक डाइटिङ गर्नाले शरीरमा क्यालोरीको अभाव र उर्जाको स्तरमा कमी आउँछ ।
यसकारण स्वभाविक रूपले ऊर्जा बचत गर्न शरीरमा मेटाबोलिजम ढिलो हुन्छ । यसले तौल घटाउनुका साथै मांसपेशीको टोन पनि घटाउँछ । डाइटिङ गर्दा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन (विशेष गरी भिटामिन ए, डी, ई, र के) र क्याल्सियम, फास्फोरस, सोडियमलगायतका खनिजको अभाव हुन्छ । यी सबै आहारको आवश्यक तत्व हुन् र खानामा यी तत्वको अनुपस्थिति थुप्रै रोगहरूको कारण हुन सक्छ ।
कुपोषण र डाइटिङ एकआपसमा सम्बन्धित हुन्छन् । कुपोषणले सम्पूर्ण शरीरको मांसपेशीहरूलाई क्षति पुर्याउन सक्छ । धेरै छिटो तौल घटेका कारण मुटुको मांसपेशी पनि बिग्रन सक्छ । कमजोर हृदय एक गम्भीर समस्या हो जुन घातक पनि हुन सक्छ । डाइटिङ छोडेर अचानक नियमित खाना खान सुरू गर्नाले फोस्फरस, म्याग्नेसियम, र पोटेसियमको स्तर खस्कन सक्छ, जसले हर्ट फेल निम्त्याउँछ ।
अधिक डाइटिङले छोटो समयमा धेरै तौल घटाउन सक्छ, जसले महिलाको शरीरमा हुने विभिन्न कार्यलाई रोक्न दबाब सिर्जना गर्न सक्छ । यसले महिनावारीको चक्रलाई पनि असर गर्न सक्छ । अधिक डाइटिङ गर्ने व्यक्तिले खानाको सही मात्रा खाने गर्दैनन् । डाइटिङको समयमा कब्जियतको समस्याबाट पनि ग्रस्त हुन सकिन्छ । साथै, हार्मोनल परिवर्तन र रगत चिनीको कम स्तरका कारण, यसले हाम्रो मुडलाई असर गर्न सक्छ ।
जब उर्जाको स्तर खस्छ, शरीर धेरै थाकेको महसुस हुन्छ र मुड पनि खराब हुन्छ । जर्नल अफ न्यूरोसाइन्समा प्रकाशित एक अनुसन्धानका अनुसार अत्यधिक डाइट गर्ने व्यक्तिको दिमागमा तनाव हार्मोन कोर्टिकोस्टेरोनको स्तर बढ्न सक्छ । यसले दिमागलाई तनावका लागि अति नै संवेदनशील बनाउँछ र उक्त व्यक्तिमा डिप्रेसनको जोखिम बढाउन सक्छ ।