शनिबार १८ मंसिर २०७८

काठमाडौं/ काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ । वायु प्रदूषण मौसममा पनि भर पर्ने बताइएको छ ।

मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराबसमेत हुने सम्भावना रहेको विज्ञहरुले बताएका छन् । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यस्तो अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ । यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ ।

विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी विरामी र मुटुका रोगीहरु बढी प्रभवित हुने भएकाले विभागले विशेष सावधानी अपनाउन सबैमा अपील गरेको छ ।

विभागका उपमहानिर्देशक इन्दुबिक्रम जोशीले सकेसम्म सबै उमेर समूहका नागरिकलाई सम्भव भएसम्म घर बाहिर नकिस्कन, निस्कनैपर्ने अवस्थामा विशेष सावधानी अपनाउन आग्रह गरे ।

आगो बाल्दासमेत वायु प्रदूषण झनै बढ्ने भएकाले फोहर बाल्ने र खुलारुपमा आगो बाल्ने कार्य नगरिदिन, विद्युतीय सावारी साधन बाहेकका अन्य सवारी साधन कम प्रयोग गर्न विभागले आग्रह गरेको छ ।

शुक्रबारदेखि यता काठमाडौँ उपत्यका लगायतका स्थानको वायु प्रदूषण सूचक (एक्यूआई) ३०० को हाराहारी रहेको छ । विभागका अनुसार मानव स्वास्थ्यका लागि शून्यदेखि ५० सम्मको एक्यूआई राम्रो, ५० देखि १०० सम्म सामान्य तथा १०० देखि माथिको तहलाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

प्रदूषणको प्रमुख कारण डढेलो !

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ । अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो लागेको छ ।

विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै तीन दिनदेखि नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको जानकारी दिए ।

उनका अनुसार मौसम सफा हुन डढेलो कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न सकिने अवस्था छैन् । विभागकै मौसमविद् मञ्जु बासीले डढेलोका कारण वायुमण्डलमा असर परेको र बाक्लो तुवाँलो लागेको बताइन् ।

“वायुमण्डल स्थिर छ, हावा तलमाथि भएको छैन त्यसैले उपत्यकाको आकाश बाक्लो तुवाँलोले ढाकेको छ । बेगले हावा चलेको भए तुवाँलो छरिन्थ्यो र विस्तारै आकाश खुल्ने थियो । त्यो देखिदैन मङ्गलबारदेखि काठमाडौँको आकाश खुल्ने अनुमान गरिएको छ’, उनले भनिन् । (news24 nepal बा’ट)

५७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया