
काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै विद्युतबाट रासायनिक मल कारखाना खोल्ने बताउनुभएको छ ।
पशुपन्छी विकास मन्त्रालयले बिहीबार ललितपुरमा गरेको पशुजन्य वस्तुको उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा कार्यक्रममा उहाँले नेपालमै विद्युतबाट रासायनिक मल कारखाना खोल्ने गरी डेडिकेटेड प्रोजेक्ट नै बनाइने बताउनुभएको हो ।
उहाँले बढी भएको बिजुलीबाट महंगो लागतमै भएपनि मल कारखाना खोलेर विदेशबाट मल आयातको परनिर्भरता अन्त्य गर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले कृषि क्षेत्रलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न उत्पादन विविधता र बजारीकरण सरकारको प्राथमिकता रहेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले पशुजन्य उत्पादनमा आत्मनिर्भर हुँदा किसानको आम्दानी र रोजगारी सिर्जना हुने धारणा पनि राख्नुभयो । फरक प्रसंगमा प्रधानमन्त्री ओलीले कोरोनाको रोकथाम गर्न सरकार सक्षम रहेपनि सतर्क भने हुनुपर्ने बताउनुभयो ।
उहाँले कोरोना संक्रमण फैलन नदिन सरकारले दिने निर्देश पालन गर्न आग्रह गर्नुभयो । उहाँले सरकारको एकमात्र लक्ष्य र राष्ट्रिय अभियान देश बनाउने नै रहेको भन्दै सबै पक्षसँग सहकार्य गर्ने बताउनुभयो ।
त्यस्तै कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले कृषि उत्पादनको खपत र बजारीकरणको व्यवस्थापनमा सरकारले लगानी गर्ने बताउनुभयो ।
त्यस्तै उहाँले कृषिमा बैदिशक लगानी भित्र्यउदा नेपाली किसानलाई कुनै समस्या नहुने दाबी गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्नुभयो ।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) को मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा यस्तो घोषणा गरिएको मन्त्रालयले जनाएको छ ।
नेपालमा वार्षिक १ अर्ब ६० करोड गोटा अण्डा र २ लाख ५० हजार मेट्रिक टन कुखुराको मासु उत्पादन हुँदै आएको मन्त्रालयले जनाएको छ ।