आइतबार ०७ कार्तिक २०७८

वीरगन्ज/ छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढ्दै गएपछि नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण भित्रिन नदिन सीमा नाकामा कडाई गरिने भएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण भित्रिन नदिन सीमा नाकामा कडाई गर्नुका साथै आन्तरिक सुरक्षा व्यवस्थापन परीक्षण एवं क्वारेन्टाइन आइसुलेशन व्यवस्थापन गरिने निर्णय भएको छ ।

बैठकले सीमा नाकाको सुरक्षा व्यवस्थापनको निम्ति इनर्वा नाका लगायत यस जिल्लाको विभिन्न नाकाबाट अनाधिकृत आवत जावत नियन्त्रण गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट आवश्यकीय सुरक्षाको प्रबन्ध मिलाउने, सिमा नाकामा संचालित हेल्थ डेक्समा कार्यरत स्वास्थ्यकर्मीद्वारा यात्रुहरुको तापक्रम मापन गर्ने, ज्वरो आएका यात्रुहरुको मलेरियाको ¥यापिड डाइग्नोस्टिक चेकजाँच (आरडिटि) तथा सम्भव भएसम्म कोभिडको एन्टिजेन टेस्टको व्यवस्था नारायणी अस्पतालबाट गरिने निर्णय गरिएको छ ।

साथै सिमा नाकाबाट नेपाल भित्रिने यात्रुहरुको हकमा कोभिड – १९ को लक्षण देखिएको यात्रुलाई आइसुलेशन सेन्टर वा अस्पतालमा पठाउने व्यवस्था गर्ने र अन्य यात्रुहरुलाई १० दिनसम्म होम क्वारेन्टाइनमा बस्ने बसाउने व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध समेत गरिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

उक्त बैठकबाट कुनैपनि सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक एवं भीडभाड हुने कार्यहरु गर्न निरुत्साहित गर्ने, सार्वजनिक स्थलमा २५ जना भन्दा बढि सामुहिक भेला हुन निषेध गर्ने लगायतका जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गराउन सबै निकायहरुलाई अनुरोध समेत गरिएको छ ।

उक्त बैठकबाट आन्तरिक सुरक्षा व्यवस्थापन परीक्षणका निम्ति नाराणी अस्पतालमा १५ शैयाको आईसियू सुचारु गर्नुका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका बमोजिम केस इन्भिस्टिगेशन एवं कन्टेक्ट ट्रेसिङ कार्यलाई तिब्रता दिने निर्णय गरिएको छ ।

क्वारेन्टाइन आइसुलेशन व्यवस्थापनका निम्ति सामुदायिक क्वारेन्टाइन सेन्टरको लागि वीरगन्ज महानगरपालिका भित्रका कलवार धर्मशाला, गोपाल मण्डली लगायतका धर्मशालाहरुलाई महानगरपालिकाको समन्वयमा तत्कालै सुचारु गरिनुका साथै नारायणी अस्पताल, पोखरीया अस्पताल, बगही प्राथमिक स्वास्थ्य केन्द्र, वागेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र र भिखमपुर स्वास्थ्य केन्द्रलाई कोभिड अस्पतालको रुपमा व्यवस्था गर्न निर्णय समेत गरिएको छ ।

३१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया