
एजेन्सी/ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफू २१ वर्षदेखि बिनाबिदा देश र जनताका लागि क्रियाशील भएको दाबी गर्नुभएको छ ।
भारतीय जनता पार्टी (भाजपा) को मङ्गलबार बसेको बैठकमा बोल्ने क्रममा उहाँले आफू गुजरातको मुख्यमन्त्री भएदेखि अहिलेसम्म कहिल्यै बिदा नलिई काम गरिरहेको बताउनुभएको हो ।
उहाँले आफूले झैँ बिनाबिदा जनताको सेवामा निरन्तर क्रियाशील हुन सांसदहरुलाई पनि निर्देशन दिनुभएको केन्द्रीय मन्त्री अर्जुन राम मेघवालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री मोदीले भन्नुभयो, “मैले कोरोनाभाइरसको महामारीका बेलामा पनि कुनै कमी नगरी लगातार सेवामा लागि रहेँ, विश्व नै थिलोथिलो भइरहेका बेला पनि भारतले त्यो चुनौतीलाई प्रभावकारी तरिकाले व्यवस्थापन गर्न सफल भयो ।”
उहाँले विश्वका ११० देशका नेताहरुले भारतमा कोरोनाभाइरसको महामारीको व्यवस्थापन राम्रो भएको स्वीकार गरेको जानकारी पनि दिनुभएको थियो ।
उहाँले देशका करोडौँ जनताको जीवन जोगाउने कुरा सानोतिनो चुनौती नभएको पनि उल्लेख गर्नुभएको मन्त्री मेघवालले बताउनुभयो । असाधारण चुनौतीलाई निरन्तरको क्रियाशीलता र सेवा भावनाले नै जित्न सकेको प्रधानमन्त्री मोदीको भनाइ थियो ।
प्रधानमन्त्री मोदीले त्यहीअनुसारको क्रियाशीलता र सेवाको भावनाका साथ संसदमा नियमित उपस्थित हुन र जनताको काम गर्न सांसदहरुलाई पटक पटक जोड दिनुभएको थियो । (news24 nepalबा ट)