शनिबार १४ माघ २०७९

काठमाडौं / अभिनेत्री प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करणमा अध्यक्षको भूमिकामा देखिने भएकी छन् । प्रियंकालाई लिएर जितु नेपालले बुधबार महाराजगञ्जको एक ब्याङ्क्वेटमा कार्यक्रमको प्रोमो छायांकन गरिसकेका छन् ।

यसअघि यो टीभी शोमा दीपाश्री निरौला र करिश्मा मानन्धरले अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । निकट स्रोतले अध्यक्षको रुपमा प्रियंका कार्कीको नाम निश्चित भएको र प्रोमो छायांकन भइसकेको जानकारी दिएको छ ।

दमन रुपाखेतीसहितका कलाकारले यो कार्यक्रमको तेस्रो सिजनमा प्रवेश गरेका छन् । दमनसहित श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ यो कार्यक्रममा देखिनेछन् ।

अघिल्लो संस्करणको चर्चित पात्र फुलन्देको आमाको ठाउँमा यसपटक जितुको सानीआमा पात्रलाई इन्ट्री गराइँदैछ, जसलाई श्याम रानाले निर्वाह गर्नेछन् । ‘छक्कापञ्जा’ फेम्ड सुमन गिरी भाञ्जा कार्यक्रम संयोजकको रुपमा हुनेछन् ।

‘नेपाल र भारतीय कमेडी कार्यक्रममा नभएको कुरा यसपटक देखिनेछ,’ स्रोतले भन्यो । ५२ भाग प्रसारण हुने बताइएको यो सिजनपछि जितु नेपाल र डीसीको टिम फिचर फिल्मको तयारीमा लाग्नेछ ।

जितु नेपालको फिचर फिल्म ‘ह्यारीकी प्यारी’ पनि अब तुरुन्तै रिलिजको तयारीमा रहेको छ । प्रियंका कार्कीको पनि अर्को नयाँ फिल्म ‘चि मुसी चि’ समेत अब चाँडै नै प्रदर्शन हुने तयारीमा रहेको छ ।

६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया