
काठमाडौं / राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो ।
सिस्टममा समस्या आएको र समाधानका लागि निरन्तर प्रयास गर्दा पनि समाधान नभएको भन्दै विभागले राहदानी वितरण कार्य रोकेको हो ।
सिस्टममा समस्या आउँदा राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएकाले अर्काे सूचना जारी नहुँदासम्म राहदानी वितरण कार्य रोकेको विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन् ।
पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा समस्या आई राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अ’वरुद्ध हुन गएको छ । विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सुचारू हुन केही समय लाग्ने व्यहोरा सबैमा अनुरोध छ ।
प्रवक्ता सापकोटाले जारी गररेको विज्ञप्तिमा भनिएको छ, ‘आजको मितिदेखि अर्को सूचना जारी नहुँदासम्मको लागि माथि उल्लेखित सेवा लिनको लागि विभागमा उपस्थित नभइदिनु हुन सादर अनुरोध छ । ’
नियमित रूपमा राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट बुक गरेका सेवाग्राहीहरू बुक गरेको मितिमा बायोमेट्रिकको लागि विभागमा उपस्थित हुन विभागले भनेको छ ।
कोरोनाभाइरस महामारीपछि राहदानी लिनेको भिड बढेको बताउँदै आएको विभागले सेवा प्रवाह अनि’श्चितकालका लागि बन्द गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमति पत्र, राष्ट्रिय परिचयपत्रमा देखिएका समस्या समाधान गरी चुस्तदुरुस्त सेवा दिने निर्णय गरेको थियो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगेर सेवाग्राही र विभागको अवस्थाबारे जानकारी लिएका थिए । तर, विभागले भने सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण कार्य नै अनिश्चितकालका लागि बन्द गरेको हो ।
सेवाग्राहीहरु यस अघिदेखि नै राहदानीको सेवा लिनका लागि रातिदेखि नै विभागमा लाइनमा बस्ने गरेका छन् । यसरी रातभर लाइन बसेर पालाे नआउने तथा काम नहुने गरेकाे गुना’साेका बीच सेवा प्रवाह नै बन्द गरिएकाे हाे ।