
काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी ( नेकपा एमाले)का उपाध्यक्ष वामदेव गौतमले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीका सबै तिकडम अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहेर बसेको देख्दा दया लागेको बताउनुभएको छ ।
शुक्रबार खनाल–नेपाल पक्षले आयोजना गरेको अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधनका क्रममा प्रधानमन्त्रीसमेत रहनुभएका ओलीको सबै तिकडम सहेर बस्नुभएका अर्का अध्यक्ष प्रचण्डलाई देख्दा दया लागेको बताउनुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले आलोपालो प्रधानमन्त्री ओलीलाई छोडेपछि पार्टी एकता नरहने आशंका मलाई लागेको थियो । तैपनि ओलीका सबै तिकडम दाहालले सहेर बसेको देख्दा भने मलाई दया लागेको थियो ।’
यसैगरी ओली समूहले गठन गरेको वास्तविक किसान संगठन नभएकोपनि उहाँले बताउनुभएको छ । ‘किसान महासंघलाई माधव नेपाल पक्षबाट समर्थन प्राप्त भयो । यो समर्थन केपी ओलीतिरबाट पनि प्राप्त गर्न सकिन्छ कि भनेको उहाँले त पहिला नै किसान महासंघ बनाइसक्नु भएको छ । हाम्रो किसान महासंघसँग त्यो किसान महासंघको कुनै सम्बन्ध छैन । किनकि यो किसान महासंघ कानुन बमोजिम दर्ता भएको हो, उहाँको दर्ता छैन ।’
पछिल्लो राजनीतिक घटनाक्रम हेर्दा नेकपा एमाले विभाजन हुने खतरा उत्पन्न भएको उहाँले अनुमान गर्नुभएको छ । किसान महासंघका पूर्व अध्यक्षसमेत रहनुभएका गौतमले सर्वोच्चको फैसलापछि दुवै पक्षका गतिविधि त्यस्तो देखिएको बताउनुभएको छ ।
यद्यपि, अदालतको फैसलापछि पार्टीलाई एक गराउन लागिपरेको बताउदै खनाल–नेपाल पक्षका भेलामा पनि आफ्नो समर्थन नभएको उहाँको दाबी छ । त्यसो त खनाल–नेपाल पक्षको भेलाले पास गरेका केही प्रस्तावमा भने आफ्नो समर्थन रहेको बताउनुभएको छ । उहाँका अनुसार फागुन २८ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका एक्लौटी निर्णय फिर्ता गर्नुपर्छ भन्नेमा भने ठीक गरिएको छ ।
उहाँले भन्नुभयो, ‘झलनाथ–माधव कमरेडले गरेको भेलाको पक्षमा छैन । तर उहाँहरुले पूर्ण बैठकको माग गर्नुपर्दथ्यो । त्यो गर्नुभएन । साथै, केपी ओली नवौँ महाधिवेशनका मार्गदर्शक दस्तावेजको पक्षमा हुनुहुन्न भनेर आरोप लगाउनु पर्दथ्यो र राष्ट्रव्यापी छलफल गर्नुपर्दथ्यो । उहाँहरुले त्यसो नगरेर छुट्टै पार्टी जस्तो गर्नुभएको छ । यसकारण मेरो सहमति छैन ।’
यसैगरी उपाध्यक्ष गौतमले पार्टी बैठक माग गरेर ओलीका कदमविरुद्ध संघर्ष गर्नुपर्ने पनि बताउनुभएको छ । उहाँका अनुसार अब केपी ओलीले बैठक बोलाउनु भयो भने त्यहाँ सहभागी भएर केपीका सबै गलत क्रियाकलापको विरोध गर्नुपर्छ ।
फागुन २८ मा बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय पनि फिर्ता लिनुपर्ने बताउदै त्यहीँबाट ल डा इँ सुरु गरिनुपर्ने उहाँको भनाइ रहेको छ ।