
काठमाडौं, पुस १४ गते / अब आउने दशैं अर्थात् २०८० सालको दशैं र तिहार एक महिनापछि सर्ने भएको छ । पञ्चाङ्ग निर्णायक समितिले तयार गरेको २०८० सालको पात्रोमा साउन एक महिना मलमास परेकोले दशैं एक महिना पर सरेको हो ।
समितिको मंगलबार बसेको बैठकले पात्रो तयार गरी पञ्चाङ्ग निर्णायक समितिका सदस्यलाई पात्रो उपलब्ध गराएको थियो । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले आउँदो वर्षको साउनपछिका पर्व १९ दिनपछि परेको जानकारी दिँदै भन्नुभयो– ‘पात्रो तयारीको क्रममा छ ।
पञ्चाङ्गसम्बन्धी सम्पूर्ण निर्णय भएपछि सबै विषयमा जानकारी दिनेछौं ।’ समितिले करिब १५ संस्थालाई पात्रो छपाई गर्न स्वीकृत दिने तयारी गरेको छ । कार्यकारी निर्देशक ढुंगेलले केही दिनभित्र पात्रो बजारमा आउने जानकारी दिँदै भन्नुभयो–‘एक दुई दिनमा निर्णय गर्नेछौं, त्यसपछि छपाइका लागि स्वीकृत दिनेछौं ।
वि.सं. २०८० सालमा दशैंको पहिलो दिन घटस्थापना असोज २८ गते परेको छ । कार्तिक ४ गते फूलपाती, ५ गते महाअष्टमी, ६ गते महानवमी र ७ गते विजयादशमी परेको छ । त्यस्तै, कार्तिक ११ गते कोजाग्रत पूर्णिमा परेको समितिका एक पञ्चाङ्गकारले बताए ।
अर्को पर्व तिहार पनि कार्तिक महिनाको २५ गतेबाट सुरू हुनेछ । कार्तिक २५ गते काग तिहार, २६ गते कुकुर तिहार र लक्ष्मीपूजा, २७ गते गाई तिहार , २८ गते म्हपूजा, नेपालसम्वत् र गोवर्धन पूजा र २९ गते भाइटीका परेको छ । आजको नेपाल समाचारपत्र दै’निक बा’ट ।