
काठमाडौं / नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । माओवादीले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार भएको छलफलमा प्रचण्ड र ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो । अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सरकार गठनका लागि १६६ जना सांसदको समर्थन जुटाएको नेताहरुको दाबी छ ।
यो पनि : राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् ।
उनले शुभकामना सन्देशमार्फत यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
इसाई धर्मावलम्बीहरूद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी क्रिसमस डे मनाउने गरिएको छ । यस अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी यो पर्व मनाउने गरिएको छ ।
राष्ट्रपति भण्डारीले इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन्।