आइतबार ०७ कार्तिक २०७८

काठमाडौं/ सर्वोच्च अदालतको फैसलापछि व्यूँतिएको सत्तारुढ नेकपा एमाले यतिवेला संकटतर्फ धकेलिएको छ । हाल १ सय २० सांसद संख्या रहेको एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल तथा माधव नेपाल समूहका छुट्टा–छुट्टै बैठक र भेलाहरु हुन थालेका छन् ।

बुधबार र बिहीबार दुई दिनका लागि एमालेको संस्थापनइतर समूहले राष्ट्रिय भेला आयोजना ग-यो । यो भेला गर्ने र सहभागी हुनेलाई कारवाही गर्ने ओली समूहले चेतावनी नै दिएको छ । यदि ओली समूहको चेतावनी कार्यान्वयन हुन आयो भने एमाले विधिवत्रुपमै विभाजित बन्नेछ ।

मंगलबार साँझतिर नेकपा एमाले ईश्वर पोखरेलले एक विज्ञप्ती जारी गर्दै एमालेको कुनै किसिमको राष्ट्रिय भेला आयोजना नभएको सन्देश दिए । उनले जारी गरेको विज्ञप्तीमा पार्टी संगठनको निर्देशन विपरित भएका कुनै भेला गरे वा त्यस्तो भेलामा सहभागी बने कारवाही गर्ने उल्लेख छ । तर, माधव–झलनाथ समूहले उल्टै कारवाही गरेर देखाउन चुनौति नै दिएको छ ।

साविकको नेकपा रहँदै माधव–झलनाथ समूह प्रचण्डसँग नजिक थिए । सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई व्यूँताइदिएपछि माधव–झलनाथ समूह एमालेमै फर्कियो भने प्रचण्डले माओवादी केन्द्रलाई विस्तार गर्ने गरी पार्टी बैठकहरु राखे ।

माओवादी केन्द्रका महासचिव रामबहादुर थापा ‘बादल’ सहित २३ जना एमाले अर्थात ओली समूहसँग जोडिन पुगे । तर, माधव–झलनाथ समूहले ओली विरुद्ध आन्तरिक संघर्ष जारी राख्ने भन्दै एमालेको बलियो गुटकारुपमा अघि बढेका छन् ।

आगोमा घिउ भनेझैं गत फागुन २८ गते अध्यक्ष र महासचिव मात्र रहने गरी सबै पदाधिकारी खारेज गर्दै माओवादी केन्द्रका २३ जनालाई एमाले अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा मनोनित गरे । उनले प्रदेश इञ्चार्जहरु पनि फेरबदल गरे ।

माधव–झलनाथ निकटलाई हटाउँदै ओलीले केही पूर्वमाओवादी केन्द्रका नेताहरु र आफू निकटलाई जिम्मेवारी दिए । यसबाट थप रुष्ट बनेको माधव–झलनाथ समूहले राष्ट्रिय कार्यकर्ता भेला आह्वान गर्दै पार्टी फुटलाई गति दिएका छन् । तर, उनीहरुले एमाले फुटाउने प्रयासमा ओली समूह सक्रिय बनेको बारम्बार आरोप लगाउँदै आएका छन् ।

चैत ३ गते वालुवाटारमा ओली समूहले चियापान आयोजना गरेका थिए । सो चियापानमा माधव–झलनाथ समूह सहभागी बनेनन् । उता, कर्णाली प्रदेशमा ओली निकट मानिएका नेता यमलाल कँडेलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेमा थप जटिलता उत्पन्न भएको छ ।

प्रकाश ज्वाला लगायतका माधव–झलनाथ निकट नेताहरुले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता नभएको बताइसकेका छन् । स्मरणीय के छ भने, नेकपा फुटको जरा पनि कर्णाली नै बनेको थियो । कर्णाली प्रदेशमा पहिलो पटक ओली समूहले मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव अघि बढाएपछि साबिकको नेकपामा चरम द्वन्द्व उत्पन्न भएको थियो ।

अहिलेको परिस्थितिमा पनि कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने ओली समूहको निर्णयमा माधव–झलनाथ समूहको असहमति रहेको छ । यसले केन्द्रीय तहमै पार्टी विभाजनको विउ रोपेको छ ।

४३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया