सोमबार २० मंसिर २०७८

काठमाडौं/ राष्ट्रपति विद्यादेवि भण्डारीको आयोजनामा राष्ट्रपति भवन शीतल निवासमा भएको सर्वदलीय बैठक सकिएको छ। मंगलबार आफूले बोलाएको चियापान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले छोटो मन्तव्य समेत राखेकी छन्।

बैठकमा सुरूमै उनले नभेटेको धेरै भएकाले बोलाएको भनेकी थिइन्। आफू बंगलादेश भ्रमणमा जान लागेको र कोभिडको कारणले पनि भेट्न नसकेकाले बोलाएको बताएकी थिइन्। राष्ट्रपति भण्डारी चैत ९ गते बंगलादेशको दुई दिने राजकीय भ्रमणमा जाँदैछिन्।

त्यसलगत्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्नुभन्दा पहिला नै बोलाएको भए पो हुन्थ्यो भनेर भनेका थिए।
त्यसपछि सामान्य कुराकानी गर्दै चियापान भइरहेको थियो। चियापान सकिने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बोल्ने भनेर समय मागेका थिए।

‘प्रधानमन्त्रीजीले म बोल्छु भनेर आफूले गरेको प्रतिनिधिसभा विघटनको मुद्दालाई सर्वोच्च अदालतले उल्टाइदिए पनि विघटन गरेर जाने प्रावधान रहेको भन्नुभयो,’चियापानमा सहभागी एक नेताले भने,’उहाँले पुन:स्थापित प्रतिनिधिसभाले काम गर्ला जस्तो छैन। अब फेरि विघटन गरेर चुनावमा जाऊँ भनेर भन्नुभयो। त्यसका लागि सबै छलफल गरौं समेत भन्नुभएको थियो।’

प्रधानमन्त्री ओलीले ‘छलफल गरेर जाऊँ’ भनेलगत्तै कांग्रेस नेता पौडेलले “संविधान मिच्नका लागि सल्लाह गर्ने?” भन्दै प्रतिवाद गरेका थिए।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सबै मिलेर फैसला कार्यान्वयन गर्नका लागि बहस गर्नुपर्ने बताएका थिए। उनले राष्ट्रपतिले संकटका बेलामा छलफल गरौं भनेर भन्न सक्ने भए पनि अहिले उपयुक्त समय नभएको बताए।
संवैधानिक र संसदीय प्रक्रियाबाट अहिलेको समस्याको समाधान हुने उनको भनाइ थियो।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले ‘संसद सुचारू गर्ने त प्रधानमन्त्रीको जिम्मेवारी होला?’ भनेर प्रश्न गरेका थिए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिया खान बोलाएकोले अन्य बहसमा आफू नजाने बताए। उनले प्रधानमन्त्रीको भनाइ अप्रिय भएको भन्दै अहिले यस विषयमा छलफल नगर्ने धारणा राखे।

सबै उठ्दै गर्दा राष्ट्रपति भण्डारीले आफू निर्वाचनको पक्षमा रहेको सांकेतिक धारणा राखेकी थिइन्।

‘हामी उठ्यौं, उठ्दा उठ्दै चुनाव त ठूलो कुरा होइन। चुनाव गर्दा के हुन्छ ? चुनाव त लोकतन्त्र हो भनेर भन्नुभयो,’भेटमा सहभागी अर्का एक नेताले भने,’उहाँको यो भनाइ निकै खतरनाक लागेको छ। उहाँले प्रधानमन्त्रीकै भाषा बोल्नुभयो।’

बैठकमा सबै पार्टीका नेताहरु र पूर्वप्रधानमन्त्री हरुलाई बोलाइएको भएपनि पूर्वप्रधानमन्त्री माधव नेपाल, झलनाथ खनाल र डा.बाबुराम भट्टराई भने उपस्थित भएका थिएनन्। हे’र्नुहोस् भिडियो:-

३३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया