
खोटाङ / हप्ता दिनको अवधिमा खोटाङको त्रिधार्मिकस्थल हलेसीमा ४० हजार भेटी आम्दानी भएको छ । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा गत ११ असारदेखि १७ असारसम्मको अवधिमा ४० हजार ६५ रुपैयाँ भेटी आम्दानी भएको हो ।
यस अवधिमा हलेसीमा दर्शनार्थीले एक तोला चाँदी र ०.००५ तोला सुन चढाएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।
संकलन भएको रकम माछापुच्छ्रे बैंकको हलेसी शाखामा खोलिएको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ । हलेसीमा आएका दर्शनार्थी तथा पर्यटकले चढाएको रकमलाई गणना गरेर आम्दानीका रूपमा बाँधेर सार्वजनिक गर्ने गरिएको छ ।
यो पनि :- विकासका काममा राजनीति नगर्न आग्रह
काठमाडौँ / नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका काममा राजनीति नगर्न सबैलाई आग्रह गरेका छन् । उनले रुपन्देहीमा निर्माणाधीन दानव तिनाउ करिडोरमा राजनीति भएको भन्दै यहाँका सबै नागरिकले माग गरेर मात्र यो आयोजाना अघि बढाएपछि यसलाई राजनीतिकरण गरिएको आ’रोप लगाए ।
नेता पौडेलले रुपन्देहीको सैनामैना नगरपालिका–१ र बुटवल उपमहानगरपालिकाको वडा नं १५ जोड्ने दानव नदीको कर्साघाटमा निर्माण भएको पुलको आज उद्घाटन गर्दैै तिनाउ र दानव नदीको बहाव क्षेत्र छोडेर सडक बनाउने योजना रहेको बताए । उनले किनारमा बसेकालाई जबर्जस्ती हटाउने योजना नरहेको स्पष्ट पारे ।
पूर्वउपप्रधानमन्त्री पौडेलले यस क्षेत्रको विकासमा गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको कामको पूरा तयारी भएको, तिनाउमा सिग्नेचर ब्रिज निर्माण हुने, बुटवल–गोरूसिङ्गेसम्मको सडक स्तरोन्नति हुने भएपछि यस क्षेत्रको विकासले थप फड्को मार्ने बताए ।
सैनामैना–१ र बुटवल–१५ जोड्ने यो पुलको लम्बाइ १२७ मिटर रहेको छ । विसं २०७४ असार २९ गते ठेक्का सम्झौता भएको यो पुलको निर्माण लागत रु १३ करोड ९० लाख ३६ हजार ८०९ रहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । रासस