
काठमाडौं / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न हमाल शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए ।
भेटका क्रममा समसायिक राजनीतिक र नेपाली चलचित्र क्षेत्रलगायत विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा सहभागी संगीतकार चेतन सापकोटाले समसामयिक राजनीतिक,नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपायलगायतका विषयमा कुराकानी भएको जानकारी दिए।
अध्यक्ष दाहालले नेपालको चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउनका लागि राज्यका तर्फबाट जे–जति भूमिका निर्वाह हुनुपर्ने हो, त्यसो हुन नसकेकाले मिलेर काम गर्नुपर्ने बताए।
कलाकारहरू खुलेर राजनीतिमा आउने परिपाटीको विकास अध्यक्ष दाहालको पालामा नै भएको बताउँदै नायक हमालले कलाकारलाई राम्रो व्यवहार गर्ने परिपाटीको सुरुआत भएकोमा खुसी व्यक्त गरेका थिए।
उनले मुलुकमा सबैभन्दा पहिले राजनीतिक स्थिरता हुनुपर्ने र त्यसपछि मात्रै अन्य कुरा विस्तारै राम्रो हुँदै जाने बताए । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि संचार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ । सोही पदका लागि दर्जन बढी आकांक्षीहरु श’क्ति केन्द्र धाइरहेका छन् ।
चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधुप चलिरहेका बेला प्रचण्ड र हमालबीचको भेटलाई अर्थपूर्ण मानिएको छ । बोर्डको अध्यक्ष बन्न अभिनेता भुवन केसीदेखि दर्जन बढी आकांक्षीहरु दौडधुपमा व्यस्त छन् । अन्न’पूर्ण पो’ष्ट बाट ।