सोमबार २० आषाढ २०७९

काठमाडौं / खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गर्ने तयारी गरिएको छ । औद्योगिक प्रयोजन र घरायसी प्रयोजनका लागि दुई थरी मूल्य लागू गरिने भएको हो ।

औद्योगिक प्रयोजनका लागि परल मूल्यमा र घरायसी प्रयोजनका लागि केही सहुलियतमा बिक्री गर्ने तयारी रहेको नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले बताए ।

इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग अलग मूल्य तोक्ने बताए ।

‘हामी एकदमै चाँडो ग्याँसको दोहोरो मूल्यमा जान्छौं, दोहोरो मूल्य गरेर औद्योगिक प्रयोजनमा परल मूल्यमा जाने र घरायसी प्रयोजनमा सहुलियत दिने’ उनले भने । दोहोरो मूल्यबारे अध्ययन गर्न गुणस्तर तथा नापतौलका महानिर्देशक नेतृत्वको टोलीले काम गरिरहेको पनि उनले जानकारी दिए ।

औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्याँस सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्याँसको गन्ध र सिलिन्डरको रङ पनि फरक बनाउने थानीले बताए ।

आइतबारको मूल्यवृद्धि पछि पनि निगम अझै ५ अर्ब रुपैयाँ हाराहारी घाटामा रहेको उनको दा’वी छ । अन्तर्राष्ट्रिय बजार मूल्यका कारण १५ दिनमा पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा, डिजेलमा १३ रुपैयाँ ९५ पैसा र ग्याँसमा प्रतिसिलिन्डर ७५४ रुपैयाँ घाटा रहेको उनले बताएका छन् ।

५० पटक हेरिएको

तपाईको प्रतिक्रिया