
बुटवल / सुन्दा आश्चर्य र अपत्यारिलो लाग्न सक्छ तर अर्घाखाँची जिल्लामा सञ्चालित एउटा प्राथमिक विद्यालयमा यो शैक्षिक सत्रमा यही भएको छ । २०४५ सालमा स्थापना भएको दुर्गा आधारभूत विद्यालयमा यो वर्ष एक जना चार वर्षीय विद्यार्थीमात्रै पढ्नका लागि आउँछन्।
तर ती विद्यार्थीलाई पढाउनका लागि भने ४ जना शिक्षक छन्। विद्यालयमा एक जना कार्यालय सहयोगी पनि खटिएका छन् । जिल्ला सदरमुकाम रहेको सन्धिखर्क नगरपालिका वडा नं ३ (साविक -२) मा २०४५ सालमा स्थापना भएको उक्त विद्यालयमा सुरुका वर्षहरूमा कक्षा चारसम्म पढाई हुने गरेको बताइन्छ।
त्यसपछि कक्षा तीनसम्म पढाइने सो विद्यालयमा गत वर्ष मात्रै २१ जना विद्यार्थीले कक्षा लिएको विद्यालयका प्रधानाध्यापक हरिबहादुर खड्का बताउँछन् । “यो वर्ष यस्तो किन भयो मलाई थाहा छैन । तर यो विद्यालयमा अहिले एक जना मात्र बालक पढ्न आउने गरेको कुरा सत्य हो,”प्रधानाध्यापक खड्काले भने ।
“गत वर्ष नगरपालिकाले यो विद्यालयलाई अर्को विद्यालयमा गाभ्ने निर्णय गरेको भन्ने हल्ला आएको थियो त्यसैले विद्यार्थीहरूले विद्यालय छाडेको हुनुपर्छ।” अहिले त्यहाँ कार्यरत शिक्षकहरूमध्ये तीनजना शिक्षक प्राथमिक विद्यालय तहका स्थायी शिक्षक हुन् भने एक जना अस्थायी शिक्षक हुन्।
अहिले ती सबै शिक्षकले सन्धिखर्क नगरपालिकाबाट तलब बुझ्दै आएका छन् । सरकारले प्राथमिक विद्यालयका शिक्षकलाई २८ हजारदेखि ३० हजार रुपैयाँको हाराहारीमा तलब दिँदै आएको छ।
“विद्यालय खारेज हुन दिन्नौँ”
भर्खरै निर्वाचित वडा नं ३ का वडा अध्यक्ष जम्शेर मियाँ भने प्राथमिक विद्यालय निम्न माध्यामिक विद्यालयमा गाभ्ने भन्ने सुनेकाले विद्यार्थीको सङ्ख्या घटेको हुनसक्ने उनले बताए।
उनी भन्छन्, “पहिलेको नगर कार्यपालिकाको बैठकले दुर्गा आधारभूत विद्यालयलाई नजिकैको बराह नेटा निम्न माध्यमिक विद्यालयमा गाभ्ने तयारी गरेको रहेछ। तर तयारी गरेर पनि विद्यालय नगाभेको र खारेज पनि नगरेकोले सो विद्यालयमा यो समस्या आएको हो भन्ने लाग्छ।”
तर विद्यालयमा गुणस्तरको नभएको भन्दै अभिभावकहरूले विद्यार्थी अर्कै विद्यालयमा लगेको हुनसक्ने उनी ठान्छन् । मियाँले विद्यालय खारेज गर्ने भन्दा पनि गुणस्तरीय शिक्षा दिएर त्यहाका विद्यार्थीहरूलाई त्यही रोक्नका लागि पालिकाको तर्फबाट अधिकतम प्रयास गरिने बताए । माधव नेपाल / बी’बी’सी नेपाली ।