शुक्रबार १२ आश्विन २०८०

काठमाडौं/ नेकपा (एमाले) का अध्यक्ष केपी ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको छलफल पार्टी कार्यालय धुम्बाराहीमा सकिएको छ।

एमाले उपाध्यक्ष भीम रावलले बैठकमा अध्यक्ष ओली, वरिष्ठ नेता नेपाललगायतले धारणा राखेको जानकारी दिए। ‘सबैको धारणा पार्टीलाई एकताबद्ध बनाएर लैजानेमै केन्द्रित छ,’ रावलले भने।

पार्टी ३ वर्ष अगाडि फर्किएकाले त्यसैलाई प्रस्थानबिन्दु मान्नुपर्ने उनले बताए। ‘फागुन २३ गते सर्वोच्च अदालतको फैसला भएपछि भएका निर्णय हामी मान्दैनौं। २८ गते बसेको भनिएको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय मान्दैनौं। त्यसमा हामी सहभागी पनि थिएनौं। बहुमत सदस्य पनि थिएनन् बैठकमा। यही कुरा हामीले आज राख्यौं। तर, यो कुरा मान्छु भनेर प्रधानमन्त्रीले भन्नुभएन। त्यसैले कुरा मिलेन। फेरि छलफल गर्ने भनेको छ तर कहिले गर्ने टुंगो छैन,’ रावलले भने।

फागुन २८ मा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले विभिन्न नेताहरुको जिम्मेवारी हेरफेर गर्नुका साथै माओवादीबाट आएका २३ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेको थियो। यो निर्णयलाई नेपाल पक्षले अवैधानिक मान्दै आएको छ।

‘२८ गतेको निर्णय रद्द गर्नुपर्छ। त्यो भए हामी पनि कुनै गतिविधि गर्दैनौं। सर्वोच्चले पार्टीलाई ३ वर्ष अगाडि फर्काइदिएको छ। तर सर्वोच्चको फैसलापछि विभिन्न निर्णय भएका छन्। सर्वोच्चको फैसला कसरी कार्यान्वयन भयो त ? कसरी ब्युँतियो त एमाले ?’ रावलले प्रश्न गरे।

उनले थपे, ‘हामी विभाजन चाहँदैनौं। सर्वोच्चको फैसलअनुसार हुनुपर्छ सबै कुरा। आज छलफल भएको छ, राम्रै हो। एक पटक बस्दैमा सबै कुरा टुंगिँदैन किनभने धेरै गहिरो भइसकेको छ खाडल।’

अध्यक्ष ओलीले आयोजना गरेको बोलाएको चियापान र केन्द्रीय कमिटी बैठकमा सहभागी हुने–नहुनेबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उपाध्यक्ष रावलले प्रष्ट उत्तर दिएनन्। रावल नेपाल पक्षका हुन्।

ओलीले भोलि मंगलबार चियापान र ७ गते केन्द्रीय कमिटी बैठक बोलाएका छन्। एमाले मुख्यालय धुम्बाराहीमा दुई पक्षबीच पार्टीलाई कसरी एकीकृत गरेर लैजाने विषयमा दुई घण्टाभन्दा बढी छलफल भएको थियो।

बैठककै बीच बाहिर निस्किएका नेपाल पक्षका नेता रघुजी पन्तले छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए। वार्तामा नेपाल पक्षले पुस २८ गतेको बालुवाटार बैठकबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको छ। यसबारे प्रधानमन्त्रीबाट ठोस जवाफ नआएको नेता पन्तले बताए ।

भेटमा उपाध्यक्ष भीम रावल, महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरू सुवास नेम्बाङ, रघुजी पन्त, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, प्रदीप ज्ञवाली लगायत सहभागी थिए।

सर्वोच्च अदालतको फैसलापछि दुई नेताबीच पहिलोपटक भेटवार्ता भएको हो। अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि माधव–झलनाथ पक्ष पुनः एमालेतिर फर्किएका छन्।

एमालेभित्र ओली र माधव-झलनाथ पक्षबीच तीव्र विवाद छ। सो पक्षले समानान्तर कमिटीको अभ्यास पनि थालिसकेको छ।

नेकपा एमाले अध्यक्ष ओलीले माधव–झलनाथ पक्षका नेताहरूको जिम्मेवारी खोस्दै आफू निकटका नेतालाई जिम्मेवारी दिएपछि माधव–झलनाथ पक्षले समानान्तर कमिटीको अभ्यास थालेको हो। जसअनुसार सातै प्रदेश कमिटी, विभिन्न विभाग छुट्टै गठन गरिएको छ।

११८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया