
काठमाडौं/ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २८ फागुनको निर्णय खारेज गर्न अध्यक्ष केपी शर्मा ओली तयार नभएको बताउनुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समूहबीच सोमबार भएको वार्ताका क्रममा अध्यक्ष ओली २८ फागुनको एकलौटी निर्णय खारेज गर्न नमान्नुभएको वरिष्ठ नेता नेपालले बताउनुभयो ।
बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेता नेपालले भन्नुभयो, ‘सुरुवात निकै मीठो भयो। अन्त्य भने टर्रो भएको छ । २८ गतेको बैठक वैधानिक छैन। त्यसलाई शून्यमा पुर्याइदिऊँ भनेपछि स्वीकार्य भएन।’ तर अध्यक्ष ओली त्यसमा सहमत नभएको उहाँले बताउनुभयो ।
बैठकमा नेता नेपाललाई अध्यक्ष ओलीले पार्टी विरोधी गतिविधि रोक्न अनुरोध गर्दा नेपालले बालुवाटार बसेर एमालेको गुट नचलाउन ओलीलाई चेतावनी दिनुभएको छ ।
यस्तै, वार्तापछि ओली निकट नेता तथा उप–प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल समूह अडानबाट पछि नहट्दा सहमति नभएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, ‘सकारात्मक रुपमा संवाद प्रारम्भ भयो। संवाद जारी रहन्छ। थप छलफल गर्नुपर्छ भन्दै सकिएको छ। अडानबाट पछि नहटेपछि सहमति भएन ।’
नेपाल समूहका नेता तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी पुनर्जागृत गर्न वार्ता भए पनि सुखद् संवाद नभएको बताउनुभएको छ । सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘पार्टी एकतालाई पुनर्जागित गर्ने विषयमा कुराकानी भयो तर देखिएका समस्या समाधान भएन ।’
ओली समूहका नेता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि दुई समूहबीच खुलस्त छलफल भए पनि निष्कर्ष ननिस्किएको बताउनुभएको छ ।