शुक्रबार १९ जेठ २०८०

काठमाडौं / काठमाडौं महानगरपालिकाले कल सेन्टर सञ्चालनमा ल्याएको छ। महानगरबासीको गुनासो सम्बोधन गर्नका लागि राष्ट्रिय सभा गृहमा कल सेन्टर सञ्चालनमा ल्याइएको हो। गत जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो।

महानगरलाई उत्तरदायी स्थानीय सरकारका रुपमा स्थापित गर्न नागरिकका गुनासा सुन्ने प्रणाली विकास गरिएको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को भनाइ छ। ‘महानगर के गर्दैछ? जनताले सोध्न पाउनुपर्छ। आफ्ना समस्या राख्ने ठाउँ पाउनुपर्छ। यसका लागि जनताले कल सेन्टरले काम गर्नेछ,’ उनले भने।

महानगरसँग कुनै गुनासो गर्नुपरे निःशुल्क टेलिफोन १६६००१ ०५५११ मा सम्पर्क गर्न सकिने छ। सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालका अनुसार सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने खालको छ। अहिले ५ वटाबाट सुरु गरेको उनले बताए।

कल सेन्टरमा कसैले टेलिफोन गरेपछि त्यो सीडीआर (कल डिटेल रेकर्ड) महानगरको सर्भरमा रेकर्ड हुने व्यवस्था गरिएको छ। गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरुको फोन नम्बर, फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन्।

त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण पनि भरिन्छ। यो विवरण भरिसकेपछि प्रणालीले स्वचालितरुपमा गुनासो सुनुवाई गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई एसएमएस र इमेल पठाउँछ। इमेलमा गुनासोकर्ताको आवाज, समस्यासँग सम्बन्धित तस्बिर, भौगोलिक नक्सा तथा विवरण समावेश हुने ढकालको भनाइ छ।

‘अपरेटरको काम त्यतिले मात्र पूरा हुँदैन । भोलिपल्ट गुनासो सुनुवाई गर्ने अधिकारी वा वडाबाट प्रगति मागेर गुनासो गर्ने व्यक्तिलाई काम कहिलेसम्ममा हुन सक्छ भन्ने खवर पनि गर्नुपर्छ,’ उनले भने।

गुनासो वा सोधपुछकर्ताले फोन गरेर ५ अंक थिचेपछि रेकर्ड हुने व्यवस्था गरिएको छ । यो रेकर्ड भोलिपल्ट केन्द्रका कर्मचारीले सुनेर सम्बोधन गर्नेछन् । अन्नपूर्ण पोष्टबाट ।

३०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया