
काठमाडौं/ नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने भएको छ । माओवादी केन्द्र ब्यूँतिएपछि पहिलोपटक आइतबार बसेको केन्द्रीय कमिटीकाे बैठकले माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका नेताहरुलाई कारवाही गर्ने तयारी गरेको हो ।
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओलीले गत शुक्रबार बादलसहित माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिसक्नुभएकाे छ । माओवादीबाट एमालेमा मनोनीत हुनेमा १३ जना सांसद र अन्य १० जना केन्द्रीय सदस्य रहेका छन् ।
माओवादी केन्द्रले उनीहरूलाई २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो । माओवादी केन्द्रले आफ्नो पार्टीबाट बनेका मन्त्रीहरूलाई मन्त्रिपरिषबाट फिर्ता हुन निर्देशन समेत दिएको थियो ।
उनीहरुको जवाफ नआएपछि आज बस्ने बैठकले कारवाही प्रक्रिया अघि बढाउने भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन् । पार्टीले कारवाही गरे उनीहरुको सांसद पद रहँदैन ।
नेकपा रहँदा प्रधानमन्त्री ओली पक्षमा उभिएका रामबहादुर थापा ‘बादल’ सहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, दाबा लामा अहिले एमालेको केन्द्रीय सदस्य बनेका छन् । बादल बागमती प्रदेश इञ्चार्ज, भट्ट सुदूरपश्चिम इन्चार्ज र प्रभु साह प्रदेश–२ को अध्यक्षमा चयन भएका छन् ।
त्यस्तै माओवादी केन्द्रबाट पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल चौलागाईं, मनोज थापा, विषमलाल अधिकारी, लिलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर चौधरी, झपट बोहरा, चन्द्रबहादुर खड्का र गिरधरी लाल एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।