
काठमाडौं / शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी अर्थ मन्त्री जनार्दन शर्मालाई दिइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा मन्त्री देवेन्द्र पौडेल बेलायतमा शिक्षा सम्बन्धी कार्यक्रममा भाग लिन गएका कारण उनको ठाउँमा अर्थमन्त्री शर्मालाई जिम्मेवारी दिएका हुन् । पौडेल एजुकेसन वर्ल्ड फोरम २२ मा सहभागी हुन जेठ ७ गते बेलायत गएका हुन् ।
यो पनि :- रोल्पाका सामुदायिक विद्यालयहरुमा अझैँसम्म पुगेन पाठ्यपुस्तक :रोल्पा / नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन बितिसक्दासमेत रोल्पाका धेरैजसो सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुले पढ्नुपर्ने पाठ्यपुस्तक पाउन सकेका छैनन् ।
स्थानीय बजारहरुमा पाठ्यपुस्तक अभाव हुँदा विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको स्थानीय सामुदायिक विद्यालयहरुको भनाइ छ । विद्यालयहरुले समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा विद्यार्थीहरुको पठनपाठनसमेत नियमित रूपमा हुन सकेको छैन । पाठ्यपुस्तक नहुदा विद्यार्थीहरुले विद्यालयमा बुझाएका पुराना पुस्तकहरुसमेत लगेर पढ्न बाध्य भएको महेन्द्र माध्यमिक बिद्यालय होलेरिका एक विद्यार्थीले बताए ।
पुस्तक छिटो उपलब्ध गराउनका लागी स्थानीय पुस्तक बिक्रेताहरुलाई बारम्बार अनुरोध गरिए पनि सरकारले नै बाह्य बजार तथा बिक्रेता केन्द्रहरुमा पर्याप्त मात्रामा पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको गुनासो पुस्तक बिक्रेताको रहेको महेन्द्र माध्यमिक विद्यालयका शिक्षक मेघ बहादुर शाहले बताए।
जेठ सुरु भएदेखि नै आफ्ना बालबालिकाहरु विद्यालयमा जाने गरेको भए पनि पाठ्यपुस्तक नहुँदा बालबालिकाहरु पढाई बाट बन्चित रहेको अभिभावकहरुको गुनासो रहेको छ। यता रुन्टिगढि गाउँपालिकाका अध्यक्ष जनक पुनले पालिका भित्रका सामुदायिक विद्यालयहरुमा जतिसक्दो चाडो पाठ्यपुस्तक उपलब्ध गराउन सम्बन्धित निकायहरु समक्ष पहल भइरहेको बताए ।
नयाँ शैक्षिक सत्र बैशाख १५ देखी सुरु भइ वैशाख मसान्तसम्म नयाँ भर्नाको समय रहेको र जेठको पहिलो साता देखि विद्यालयहरुले नियमित रूपमा पठन पाठन सुरु गर्नु पर्ने शिक्षा नीति भए पनि हालसम्म विद्यालयहरुमा पाठ्यपुस्तक उपलब्ध नहुदा यो महिनाभर विद्यार्थीहरुको पठन पाठन नियमित नहुने देखिन्छ।