आइतबार १९ आषाढ २०७९

राजविराज (सप्तरी) / जिल्लाका हस्तीहरुलाई पराजित गर्दै सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सबैभन्दा कम उमेरका युवा गाउँपालिका अध्यक्ष बनेका छन् ।

जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, गाविसका पूर्व अध्यक्षलगायत १२ जनालाई पछि पार्दै लोकप्रिय मत बटुलेर लोकतान्त्रिक समाजवादी पार्टीबाट बिद्यानन्द चौधरी अध्यक्षमा निर्वाचित भएका छन् । बिद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय चौधरीको उमेर हाल २५ वर्ष पुगेको छ ।

उनले जितका लागि निकट्तम प्रतिद्वन्द्वी भन्दा १ हजार १२९ मतबढी अर्थात २ हजार ८९५ मत ल्याए । उनका निकट्तम प्रतिद्वन्द्वी जसपाका सत्यनारायण यादवले १ हजार ७६६ मत ल्याए । गाउँपालिकाका निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डल र जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख प्रभाकर यादवको जमानत समेत जोगिएन ।

उनीहरुले क्रमशः ८९८ र ८ सय मत प्राप्त गरे। पञ्चायतकालदेखि प्रजातन्त्र र गणतन्त्रकालमा समेत सत्यनारायण र सुर्यनारायणले छिन्नमस्तामा पालैपालो विजय भई नेतृत्व गरेका थिए भने प्रभाकर २०७४ मा छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष हुँदै जिल्ला समन्वय समिति सप्तरीको प्रमुखमा निर्वाचित भएका थिए ।

यो पनि :- धनुषामा कांग्रेसका जिल्ला सभापति मेयरमा पराजित : धनुषा / धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका सुखदेव यादव ६१३ मत अन्तरले निर्वाचित भएका हुन् ।

निवर्तमान मेयरलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका यादवले ७ हजार ९१३ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्धी कांग्रेसबाट उम्मेदवारी दिएका योगेन्द्र पजियार ७ हजार ३०० मत पाएका छन्। निवर्तमान मेयरसमेत रहेका उनी कांग्रेस धनुषाको १४ औं अधिवेशनबाट निर्वाचित पार्टीका जिल्ला सभापति हुन्।

अघिल्लो चुनावमा कांग्रेसबाट पजियार ५ हजार ८९९ मत ल्याएर विजयी भएका थिए। उनले संघिय समाजवादी फोरमबाट उम्मेदवार बनेका सुखदेवलाई फराकिलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका थिए। केही महिना अघि मात्र सुखदेवलाई एमाले सचिव रघुविर महासेठले पहल गरेर एमालेमा ल्याएका थिए।

यता उपमेयरमा भने कांग्रेसकी रचना माथेमा दोहोरिएकी छिन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्। माथेमाले ७ हजार ५५० मत पाएकी छन्। उनको निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेकी सालिनी चौधरीले ७ हजार ५११ मत ल्याएर झिनो मत अन्तरले पराजित भएकी हुन्।

२०७४ सालको स्थानीय तहको चुनावमा माथेमाले नेकपा एमालेकी यसोधा यादवलाई पराजित गर्दै उपमेयरमा निर्वाचित भएकी थिइन् । १० वटा वडा रहेको क्षिरेश्वरनाथ नगरपालिकामा यसपटकको चुनावमा ८ वटा वडामा कांग्रेस र २ वटा वडामा नेकपा एमालेले जित निकालेको छ ।

९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया