
काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । आजै राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएर १८० रुपैयाँ पर्याएको छ ।
साथै, एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८०० रुपैयाँ पुर्याएको छ । त्यसैगरी डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएर १६३ रुपैयाँ बनाइएको छ ।
निगमले अझै पनि मूल्य समायोजनपछि पनि मासिक रुपमा एलपी ग्याँसमा ३ अर्ब रुपैयाँ, डिजलमा करिब ३ अर्ब ४० करोड रुपैयाँ, र पेट्रोलमा करिब १ अर्ब रुपैयाँ घाटा रहेको जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो । यसअघि वैशाख ३१ गते मात्र सरकारले पेट्रोल र डिजेल लिटरमा १० रूपैयाँ बढाएको थियो ।
नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १८० रूपैयाँ, डिजेल र मट्टितेल १६३ रूपैयाँ लिटर पर्नेछ । त्यस्तै एलपी ग्यासको मूल्य १८०० रूपैयाँ पर्नेछ। हवाइ इन्धन (आन्तरिक) को भाउ लिटरको १६६ रूपैयाँ पुगेको छ ।