
काठमाडौं, जेठ ८ / विशेषगरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई अझै सुविधा बढाएर निरन्तरता दिन लागेका छन् ।
मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए पनि वर्तमान सरकारले ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता वितरणको तयारी गरेको छ । आर्थिक वर्ष २०७९र८० को बजेटमा ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दिने तयारी गरिएको हो ।
अहिले ७० वर्ष पुगेका नागरिकले मासिक ४ हजार वृद्धभत्ता पाउँछन् ।
सरकारले ६५ वर्ष उमेरमाथिका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदा राज्यलाई वार्षिक करिब ३० अर्ब रुपैयाँ भार थपिने अर्थ मन्त्रालयका अधिकारी बताउँछन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार अहिले मुलुकभर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या करिब साढे ३४ लाख छ । सरकारले सामाजिक सुरक्षाका लागि वार्षिक करिब एक खर्ब रुपैयाँ खर्च गर्दै आएको छ । यो खबर नागरिक दैनिकमा छापिएको छ ।