
दमक जेठ ६ / दमक नगरका नवनिर्वाचित मेयर राम थापाले छ महिनाभित्र सुकुम्वासीलाई धनीपूर्जा दिन नसके नगरपालिका छोड्ने घोषणा गरेका छन् ।
‘छ महिनाभित्र मैले धनीपूर्जा दिन सकिन भने सात महिनामा मलाई नगरपालिकामा देख्नु हुने छैन,’ शुक्रवार आयोजित बिजय जुलुसपछिको कोणसभामा मेयर थापाले भने ।
मेयर थापाले सुकुम्बासीमाथि जनप्रतिनिधिले घात गरेको बताए । अघिल्ला जनप्रतिनिधिले राष्ट्रिय भूमि आयोगले दिएको फारमसम्म सुकुम्बासीमाझ नपुर्याएको उनको आ’रोप छ । थापाले नगरबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका पनि छन् । ‘
नगरपालिकाबाट नगरप्रमुख भएबापत ४० हजार रुपैयाँ जति आउँछ । त्यो म लिन्नँ,’ नवनिर्वाचित मेयर थापाले भने, ‘यो गरिब जनताको शिक्षा, स्वास्थ्यमा खर्च गर्नेछु ।’
यो पनि :- नुवाकोटको विदुरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी : नुवाकोट / नुवाकोटको विदुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजनलाल श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)को उम्मेदवार प्रभा बोगटी विजयी भएकी छन् ।
स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३० मा भएको मतदानको आज साँझ सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार नगरप्रमुखमा श्रेष्ठले १५ हजार ८२६ मत ल्याए । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सञ्जु पण्डितले १२ हजार १५४ मत ल्याइन् ।
नगरउपप्रमुखमा माओवादी केन्द्रको उम्मेदवार प्रभा बोगटी निर्वाचित भइन् । उनले १२ हजार ८६० मत ल्याइन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार अम्बिका पौडेलले ११ हजार ९९५ मत ल्याएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईँटेलले जानकारी दिए ।
नगरप्रमुखमा विजयी भएका श्रेष्ठ नुवाकोट उद्योग वाणिज्य सङ्घको जिल्ला अध्यक्ष हुँदै, उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यको अहिले दोस्रो कार्यकालको जिम्मेवारीमा रहँदै गर्दा राजनीतिमा प्रवेश गरेका हुन् ।
तेह्र वटा वडा रहेको विदुरमा कांग्रेस र एमालेले पाँच वडामा, र माओवादी केन्द्रले तीन वडामा विजयी हासिल गरेको छ । विदुरको वडा नंं १ मा लेनिन रञ्जित, वडा नंं २ मा दीपक कायस्थ, वडा नं. ३ मा बद्री रिमाल, वडा नंं ४ मा निलमबाबु ढुङ्गेल, वडा नं ५ लिलानाथ न्यौपाने, वडा नं ६ मा श्यामकृष्ण चालिसे, वडा नंं ७ मा रवीन्द्र नेपाल, वडा नंं ८ मा कमल श्रेष्ठ, वडा नंं ९ मा हरेराम भण्डारी, वडा नं १० मा गणेशकुमार नेपाल, वडा नंं ११ मा बाबुराम लामा, वडा नं १२ मा उपेन्द्र खड्का र वडा नंं १३ मा भरत तामाङ निर्वाचित भएका छन् ।