
महोत्तरी / महोत्तरीको बर्दिबास नगरपालिका–८ को वडाध्यक्षका उम्मेदवार जाे पहिलाेपटक निर्वाचित भइसकेर
वडाध्यक्षमा निर्वाचित भइसकेका तर एउटा मतपेटिका गणना गर्न छुटेपछि उक्त मतेपेटिका गणनापश्चात पनि मत बराबरी भएपछि गोलाप्रथा गर्दा नेकपा माओवादी केन्द्रका समसेर सिंह लामा नै भाग्यमानी ठहरिएका हुन् ।
नेकपा एमालेका रुद्रबहादुर किङगरिया मगरसँग छुटेको मत गणना गर्दा दुवैले ७६७ मत प्राप्त गरेका थिए । त्यसपछि गोलाप्रथा गरिएको थियो । यसअघि वडाध्यक्षमा निर्वाचित भएका लामाले ७५१ मत पाएका थिए भने मगरले ७४४ मत पाएका थिए ।
निर्वाचन कार्यालयद्वारा नै वडामा निर्वाचित भइसकेका लामालाई विजयी उत्सव मनाएपछि फेरि फोन गरियो र उहाँलाई भनियो – ‘एउटा मतपेटिका गन्न त छुटेछ, फेरि गणना गर्नुपर्ने भयो है’ ।
यसरी निर्वाचन अधिकृतले नै विजय भएको घोषणा गरेको केही समयमै एउटा मतपेटिका गणना गर्न छुटेको र फेरि मतगणना गर्नुपर्ने भयो । मत गणना गर्दा मत बराबरी भयाे । तर लामा भाग्यले साथ दियाे, गाेलाप्रथामा पनि उनी नै विजयी भए ।
यो पनि :- दोलखामा ७ पालिकाको मतगणना सकियो : एमाले, माओवादी र कांग्रेस २/२ र समाजवादी १ पालिकामा निर्वाचित : दोलखा / दोलखामा नौ स्थानीय तहमध्ये हालसम्म सात वटा स्थानीय तहको मतगणना सकिएको छ ।
दुई नगरपालिका सात गाउँपालिका र ७३ वटा वडाका लागि भएको निर्वाचनमा हालसम्म एक नगरपालिका र छवटा गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको छ ।
जिल्लाको धेरै मतदाता रहेको भीमेश्वर नगरपालिका र बिगु गाउँपालिकाको मतगणना भइरहेको र अन्तिम परिणाम आउन बाँकी रहेको छ । हालसम्म मतगणना सम्पन्न भइसकेका स्थानीय तहमध्ये नेकपा (एकीकृत समाजवादी) ले एक गाउँपालिका तथा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एमाले)ले दुई÷दुई स्थानीय तहमा गाउँपालिका प्रमुख जितेका छन् ।
एमालेले हालसम्म जिरी नगरपालिका र मेलुङ गाउँपालिकामा प्रमुख तथा उपप्रमुख दुवै पद र शैलुङ गाउँपालिकामा उपप्रमुख जितेको छ । नेपाली कांग्रेसले बैतेश्वर गाउँपालिका प्रमुख तथा उपप्रमुख, कालिन्चोक गाउँपालिकामा प्रमुख र तामाकोसी गाउँपालिकामा उपप्रमुख जितेको छ ।
नेकपा माओवादीले शैलुङ गाउँपालिका र गौरीशङ्कर गाउँपालिकामा प्रमुख तथा कालिन्चोक गाउँपालिकामा उपप्रमुख जितेको छ । एकीकृत समाजवादीले हालसम्म तामाकोसी गाउँपालिका प्रमुखमा मात्र जितेको छ ।
जिल्लाको भीमेश्वर नगरपालिका र बिगु गाउँपालिकाको समेत मतगणना अन्तिम चरणमा पुगेको छ । नौवटा वडा रहेको भीमेश्वर नगरपालिकामा सातवटा वडाको मतगणना सकिएको छ भने दुईवटा वडाको मतगणना गर्न बाँकी छ । त्यस्तै बिगु गाउँपालिकामा समेत छवटा वडाको मतगणना सकिएको र दुईवटा वडाको मतगणना गर्न बाँकी छ ।