
सिड्नी(अस्ट्रेलिया)/ विजय बानियाँ एकाएक चर्चामा आए । उनलाई प्रतिष्ठित पत्रिका डेली टेलिग्राफले सिड्नीका प्रभावशाली १०० व्यक्ति सूचिमा समेटेपछि धेरैले उनको बारेमा खोजी गर्दैछन् ।
नेपाली भएका कारण नेपालीमूलका अष्ट्रेलियनहरुको खोजीमा उनी अझ धेरै परेका छन् । विजय मुख्यतः नृत्य प्रशिक्षक हुन् । तर, उनी सिड्नीका प्रभावशाली व्यक्तिहरुको सूचिमा पर्नुको कारण भने उनको टिकटक फलोअर र सिर्जनात्मक भिडियोहरु नै हुन् ।
विजयले एमएनटीभीसँग भने, “टिकटकमा मेरो फलोअर ९६ लाख छन् । मुख्यत मैले भिडियो लिप्सिंग गर्दिन । डान्सका स्टेपहरु राख्ने गरेको छु । अष्ट्रेलियाबाट मेरोभन्दा बढी फलोअर भएका तीनजना अरु रहेछन् तर उनीहरुको भिडियोहरु भने लिप्सिंग मात्रै रहेछन् । शायद यसैभएर पनि म छनोटमा परेको होला जस्तो लाग्छ ।”
विजय बानियाँ सन् २०१८ मा अष्ट्रेलिया आएका हुन् । नेपालमा कलंकी स्थायी बसोबास गर्ने उनको पुख्र्यौली घर भने नुवाकोट हो । यहाँ साथीभाईसँग बस्दै आएका उनले केही म्युजिक भिडियो, सर्टमुभी पनि खेलेका छन् । अहिले डिप्लोमा अफ एकाउन्टिंग सकाएका विजयले खास पढ्न चाहेको विषय चाहिँ व्याचरल अफ डान्स थियो । उनले भने, “८० हजार डलर लाग्ने रहेछ । आँट्न सकिनँ ” ।
यतिबेला आर्थिक कारणले डान्स विषयमा व्याचलर गर्ने आफ्नो ईच्छालाई दबाएर राख्न बाध्य भएका बानियाँ के पढ्ने भनेर सोचिरहेका छन् । डेली मेलले सिड्नीका व्यक्तिसूचिमा उनलाई ५४ नम्बरमा राखेको छ । उनी रोमाञ्चित हुँदै भन्छन्, “मलाई उनीहरुले दिएको टाईटल नै मन पर्यो । ‘हु रन्स आओर सिटी’ ।” यो सूचिमा प्रधानमन्त्री स्कट मोरिसनदेखि प्रिमियर ग्लेडिस बेरेजिक्लिनसम्म अटाएका छन् ।
यसमा एउटा नेपाली किशोर जो पढ्नका लागि अष्ट्रेलिया आएको छ र केही सिर्जनात्मक कामका कारण यो सूचिमा पर्नु नेपालीहरुको लागि गौरवकै विषय भएको यहाँको समूदायले ठानेको छ । सिड्नीको चर्चित डान्स ग्रुप दि नेक्स्टमा समेत आबद्ध विजयले आफैंले समेत कोरियोग्राफी गरेका छन् । उनको कन्सेप्ट र कोरियाग्राफीमा बनेको पछिल्लो म्युजिक भिडियो यस्तो छ। हे’र्नुहोस् भिडियो:-