सोमबार २० आषाढ २०७९

दैलेखको भैरबी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएसँगै गाउँपालिकाले दुवै पदमा महिला पाएको छ ।

नयाँ संविधान जारी भएपछि पहिलो पटक भएको स्थानीय तह निर्वाचन २०७४ मा एमालेले जितेको यो गाउँपालिकामा अहिले कांग्रेसले जितेको हो । कांग्रेस केन्द्रीय सदस्य सीता कुमारी रानाको गृह पालिका भैरबीको अध्यक्षमा कांग्रेसकी रिता शाही निर्वाचित भएकी छन् । उनले ३ हजार ९७६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निकटतम् प्रतिद्वन्द्वी एमालेका सर्वराज महताराले ३ हजार ९६० मत पाएका छन् । महतारा निवर्तमान जिल्ला समन्वय समितिका सदस्य हुन् । गाउँपालिकाको अध्यक्षमा निर्वाचित शाही कांग्रेस दैलेखका उपसभापति हुन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा भैरबी गाउँपालिका–३ को वडाध्यक्षमा निर्वाचित देवी भण्डारी अहिले उपाध्यक्षमा निर्वाचित भएकी छन् । कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भण्डारी २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित हुने दैलेखको ९० वडामै एक्लो हुन् ।

उनी ३ हजार ३७४ मतसहित गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी हुन् । निकटतम् प्रतिद्वन्द्वी एमालेका पदमकुमारी विष्टले ३ हजार २२७ मत पाइन् । विष्ट २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

यो गाउँपालिकामा ४ वटा वडामा एमाले, २ वटामा कांग्रेस र १ वटामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । भैरबी गाउँपालिकामा कांग्रेसबाट निर्वाचित अध्यक्ष रिता शाही र उपाध्यक्ष देवी भण्डारी । – हिक्मतबहादुर नेपाली / अन्नपूर्ण पोष्ट बाट ।

१८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया